असोज २८,म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ ।
आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनीहरुलाई वेस क्याम्पसम्म ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृतक मध्ये ६ जनाको शवलाई वेस क्याम्पबाट पनि सुरक्षित स्थानमा सारिसकिएको छ ।
‘६ जनाको शवलाई गुर्जा गाउँमा ल्याइसकिएको छ’, मगरले भने, ‘अन्य शवलाई पनि ल्याउने क्रम जारी छ ।’
दिउँसो १२/१ बजेदेखि हावा, हुरी चल्ने भएकाले शवलाई नजिकै रहेको गुर्जा गाउँसम्म ल्याइएको प्रहरीले जनाएको छ ।