असोज ३०, धनगढी । कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएकाको अवस्था अझै अज्ञात छ ।
पाँचजना सवार डुंगा सोमबार साँझ पल्टिँदा तीनजना पौडेर बाच्न सफल भएका थिए भने दुईजना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कैलालीको जोशीपुर–५ का पुरुषोत्तम चौधरी र जोशीपुर–२ का समिर बडेला छन् ।
सोमबार साँझ दुर्घटनापछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गरे पनि फेला पार्न नसकेपछि फर्किएको थियो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बेपत्ताको खोजी मंगलबार बिहानैदेखि सुरु गरिएको जानकारी दिए ।
प्रहरी निरीक्षकको नेतृत्वमा खोजी सुरु गरिएको हो । उक्त टोलीलाई स्थानीय बासिन्दाले पनि सहयोग गरिरहेका छन् । सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि खोजी कार्यका लागि आग्रह गरिएको छ । यद्यपी, अहिलेसम्म सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेका छैनन् ।