दशैँमा दुर्घटना : काठमाडौं उपत्यकामा मात्रै १३ जनाको मृत्यू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ५, सोमबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ५,काठमाडौँ । घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं , ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा असोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा ८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाइते भएका छन् ।

यो वर्षको दसैँमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्ष यताकै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाको संख्या पनि ५ वर्ष यताकै धेरै २ सय ७२ वटा भएका छन् । गएको वर्ष दसैन्को समयमा भएका १ सय ७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७३ (७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । विशेष गरेर रक्सी पिएर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । साथै यस वर्षका दुर्घटनाहरु मुख्य शहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ ।

यसैगरी ट्राफिक प्रहरी कार्यालयले रक्सी पिएर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारबाही गरेको छ । बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दूरीका सवारी चालक तथा विचौलिया २९ जनालाई प्रहरीले कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ तिहार तथा छठ पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको १ सय १४ स्थानमा ६ सय ८७ जना जनशक्ति परिचालन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस