राजमार्गहरुमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग सुरु गरिएको छ ।
राजमार्गका अत्याधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पीड ब्रेकर राख्न सुरु गरिए पनि पृथ्वी राजमार्गमा भने यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो
यसरी राखिएको स्पीड ब्रेकरले राजमार्गको संवेदनशील क्षेत्रमा आइपुगेपछि सवारी चालकहरुले स्पीड घटाउने भएका कारण दुर्घटनाको सम्भावना कम हुने भनाई प्रविधिकहरुको छ । त्यस्ता स्पीड ब्रेकर सवारी दुर्घटना अत्याधिक हुने घुम्तीहरुको तीन सय मिटर अगाडिदेखि राखिएको छ । स्पीड ब्रेकरमा आएपछि चालक आफै सचेत भई गाडीलाई कम गतिमा लगेर सुरक्षित बनाउन सजग गराउने उद्देश्यले राजमार्गमा स्पीड ब्रेकर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताउनुुभयो ।
अहिले परीक्षणको रुपमा नौबिसे–मौवाखोला सडक खण्डमा पर्ने घाटबेसी र हुग्दी खोलाको घुम्तीमा स्पीड ब्रेकर राखिएको छ । पृथ्वी राजमार्गको धादिङ खण्डमा हरेक दिन १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।