कार्तिक ८, काठमाडौं । हजुरबुबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाती जन्ती । बुहारीहरु सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरु बुबालाई दुलाहाको पोसाक लगाइदिन्छन् ।
कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्परा ।
मगर समुदायमा भागी विवाह गर्ने चलन छ । करिब ९० प्रतिशतले भगाएकै हुन्छन् । त्यसैलाई औपचारिकता दिने उनीहरु समय मिलाएर समाजलाई साक्षी राखी धुमधाम बिहे गर्छन् ।
भागेर आएका जोडीले जति बुढो भए पनि औपचारिक विवाह नगरी सामाजिक मान्यता पाउँदैनन् ।
‘अरुको के कुरा, मैले ३ जना छोरा लाठे भएपछि गतबर्ष बल्ल बिहे गरें,’स्थानीय शिक्षक निलबहादुर मगरले भने,‘हाम्रो चलन नै यस्तै छ ।’
अर्का स्थानीय पूर्ण बहादुर मगरले ७० बर्ष कटेपछि बल्ल बिहे गरे । त्यतिबेला उनका नातिनातिना नै जवान भइसकेका थिए । बिहे गरेको केही समयमै उनको मृत्यु भयो ।
भागेर जाने चेलीलाई माइतीले सहजै नस्विकार्ने भएकाले विवाह गर्न ढिलाइ हुने गरेको हो । माइतीको सहमति पर्खदासम्म उनीहरुको उमेर छिप्पिसकेको हुन्छ ।