छठ पर्वलाई हर्षोल्लासका साथ मनाउने तयारी अन्तिम चरणमा

Post Thumbnail

कार्तिक २६,काठमाडौँ । आस्थाको महापर्व छठ तराई भेगका साथै देशका विभिन्न स्थानमा भोलि हर्षोल्लासका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै सद्भाव बाँड्ने पर्वको रूप लिइसकेको छ ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ मौलिक पर्व हो ।

सन्तानप्राप्ति, निरोगीपन, सुख समृद्धि र चर्मरोगमुक्त हुने जनविश्वासअनुरूप पारस्परिक आत्मीयताका प्रतीकका रूपमा यो पर्व मनाइन्छ । संसारको आदि पर्वका रूपमा रहेको सूर्य पूजाको पर्व कुनै समय प्राचीन मिथिला भूभागभित्र मात्र प्रचलित रहेकामा कालान्तरमा यो पर्व देश–देशान्तरसम्म विस्तार हुँदै गएको पाइन्छ ।

संसारमा सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ । बेबिलोनका निवासीले सूर्यलाई अपोलोका रूपमा पूजा गर्थे भने जापानी इजानागी र इजानामीलाई आदि पुरूष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरूष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् । मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ ।

सूर्यलाई आदि देउता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै थिए । स्वभावतः मानव सूर्यप्रति आकर्षित भए र सूर्य आराधनाको क्रम शुरु भयो ।

छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको समिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।

सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देउ, वरदान देउ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराको मुख देख्न सकौँ ।” सूर्योपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यतिमात्र होइन यस ग्रन्थमा सूर्यलाई जगत्को पति भनी सम्बोधन पनि गरिएको छ । छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस