मंसिर ३, बनेपा । बनेपा ६ गोसाइँस्थान स्थित नैमिषारण्य संस्कृत गुरूकुलको प्राङ्गणमा आषाढ शुक्ल एकादशीको दिनदेखि परम् पूजनीय परम् श्रद्धेय वेदान्ताचार्य गुरु दिव्यमणि अधिकारीको मुखारबिन्दबाट प्रारम्भ गरिएको ‘चतुर्मासा प्रवचन’ आज अर्थात् हरिबोधनी एकादशीको दिन विशेष पूजा(अर्चना सहित समापन गरिँदैछ ।
आषाढ शुक्ल एकादशीको दिनदेखि क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आजैका दिन उठ्नुभएकाले आजको दिनलाई हरिबोधनि एकादशी भनिएको हो ।
बर्षभरि पर्ने २४ वटा एकादशी भन्दा यो एकादशी विशेष भएकाले यो एकादशीलाई ठुलो एकादशी नामले पनि चिनिने कुरा नैमिषारण्य संस्कृत गुरुकुलका अर्का आचार्य पुरुषोत्तम रिजाल बताउनुहुन्छ ।
यो एकादशीमा गरिएको स्नान, दान, तप आदि विशेष फलदायी हुने हुनाले यस दिन हिन्दुधर्मावलम्बीहरू व्रत बसी भगवान् विष्णुको पूजा-अर्चना गर्दछन् ।