सुनकोशी गाउँपालिकाका तीन वडामा ६५३ घर सुरक्षित आवास घर निर्माण (फोटोफिचरसहित)

Post Thumbnail

मंसिर १७,सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाका तीन वडामा ६५३ वटा सुरक्षित आवास घर निर्माण भएको छ ।

कारितास नेपालको भूकम्प पुनःनिर्माण परियोजनाअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको समन्वयमा यहाँका ६५३ घर निर्माण गरेको  हो ।

तीन वर्षको प्रयासमा सुनकोशी गाउँपालिका वडा नं १, २ र ३ (साविक ठोकर्पा र कालिका गाविस)मा भूकम्पले घर भत्काएकामा नयाँ निर्माण गरिएको र सोही गाउँपालिकाको वडा नं ४ र ५ मा भने प्राविधिक सहयोग उपलब्ध गराइएको थियो ।

“तीन घर भने सम्झौता गर्न नआएकाले निर्माण हुन पाएन, अरु शतप्रतिशत घर बने”, कारितास नेपालका कार्यक्रम व्यवस्थापक मणिन्द्र मल्लले भने ।

देशका धेरै जिल्लामा पुनःनिर्माणको कामले गति लिन सकिरहेको छैन । ‘सुरक्षित आवास, आफैँ बनाऔँ’ भन्ने उद्देश्य अनुरुप शुरु भएको पुनःनिर्माण अभियान कार्यक्रम सफल भएकामा स्थानीयवासी दङ्ग परेका छन् । घर निर्माण भएपछि आइतबार स्थानीय वडा कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

सारा गाउँले ढोकामा ताल्चा लगाएर हर्षका साथ कार्यक्रममा सरिक भएका थिए । कार्यक्रममा सहभागी हुन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित जिल्लाका उच्च सरकारी अधिकारीलाई गाउँलेले स्वागत गरे ।

आफ्नै स्थानीय मौलिक गीत सङ्गीतका साथै कलाकार दमन रुपाखेती र शिवहरि बैरागीको प्रहसनले सहभागीहरूलाई मनोरञ्जन गराएका थियो । भिरालो जमीनलाई खारेर सम्म पारिएको स्कूल चौरमा लौरो टेकेर वृद्धवृद्धा समेत कार्यक्रममा सहभागी थिए ।

“गाउँले जुटे भने र काम गर्नेले तदारुकता दिए हरेक कुरा सम्भव छ भन्ने उदाहरण यही हो, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने, “कतिपय ठाउँमा ढिला छ, यहाँ शतप्रतिशत काम हुनु गाउँका लागिमात्रै होइन नेपाल सरकारकै लागि सहयोग हो ।”

उक्त संस्थाले भूकम्प प्रभावित चार जिल्लामा भवन पुनःनिर्माण गरिरहेको छ । नेपाल सरकारले दिने रु तीन लाख सो संस्थाले उपलव्ध गराउँछ । त्यसमाथि आवश्यक प्राविधिक सहयोगका साथै उनीहरुको जीविको पार्जन तथा गाउँका अन्य समस्यामा समेत संस्थाले हातेमालो गर्दै आएको छ । पुनःनिर्माणमा कूल रु ५५ करोड २० लाख लगानी भएको र स्थानीयवासीको सक्रिय सहभागिताले निर्माण सम्भव भएको व्यवस्थापक मल्लले बताए ।

विसं २०७२ वैशाख १२ मा आएको भूकम्पले सबै घर भत्किाएपछि न खाने अन्न, न त लगाउने लुगा नभएकामा उक्त संस्थाले त्यसको चार दिनपछि राहतका सामग्री वितरण गरेर पीडा हुनबाट जोगाएको अनुभव गाउँलेको छ । “पीडामा परेकालाई मलम लगाउँदै पुनःनिर्माण अभियान चलाएर अहिले सबै नयाँ घरमा बस्न पाउनु योभन्दा खुशी अरु के हुनसक्छ”, सुनकोशी गाउँपालिका– ३ का अध्यक्ष रामहरि खड्काले भने ।

घर पुनःनिर्माण भएको प्रमाणपत्र बुझ्दै खड्काले थप छुटेका भूकम्प प्रभावितका केही गुनासा आएकाले उनीहरुको गुनासा सम्बोधनका लागिसमेत प्रयास भइरहेको बताए । सो क्रममा पहिलो घर निर्माण गर्ने स्थानीय मोहनबहादुर खड्कालाई सम्मानसमेत गरिएको थियो । खड्काले एक महीनाको अवधिमै घर निर्माण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले यहाँ आउँदा सर्वसाधारण खुशी र सुखी भएको आफूले महसुस गरेको प्रतिक्रिया दिए । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी र उपाध्यक्ष लक्ष्मी पौडेलले गाउँवासीलाई आयआर्जनमा लाग्न आह्वान गर्दै छुटमा परेकाको विषयमा पहल भइरहेकाले दुःख नमान्न आग्रह गरे ।

प्रदेशसभा सदस्य सरेश नेपाललले घर पुनःनिर्माण भएकाले अब गाउँका समस्या समाधान गरेर विकासतर्फ अग्रसर हुनुपर्ने बेला आएको बताए । कारितास नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर बोगटीले घर पुनःनिर्माणका हिसाबले दोलखाको ओराङ पहिलो र सुनकोशीको कालिका गाउँ दोस्रो भएको जानकारी दिँदै अन्य चार वटा जिल्लामा समेत काम भइरहेको बताए ।

निजी आवास पुननिर्माण हस्तान्तरणका क्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, आइडिया फर नेपालकी अन्तर्राष्ट्रिय निर्देशक चिङ चिङ से , दिनविनोद घिमिरे, रामसिंह यादव, सुनिता श्रेष्ठलगायतले पुनःनिर्माणको प्रशंसा गरेका थिए ।

उक्त संस्थाले दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न वडामा चार हजार ८२५ घर निर्माणको जिम्मा लिएकामा अहिलेसम्म चार हजार नौ घर निर्माण भइ ९३ प्रतिशत काम सम्पन्न भएको र करीब ५०० घर निर्माणाधीन अवस्थामा रहेको परियोजनाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस