महिलाहरुको मुखमा सेतो टेप, हातमा ‘म पनि निर्मला हुँ’ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २१, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २१, महेन्द्रनगर । बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि आन्दोलनमा रहेको नागरिक संघर्ष समितिले शुक्रबारदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ।

संघर्ष समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मुखमा सेतो टेप बाँधेर धर्ना दिएको छ। दिउँसो १२ बजदेखि ३ बजेसम्म अधिकारकर्मी महिलाहरुले मुखमा सेतो टेप बाँधेर धर्ना दिएका हुन्। धर्नामा बसेका अधिकारकर्मीहरुले ‘म पनि निर्मला हुँ’ भन्ने नाम लेखेर पट्टी बाँधेका थिए।

‘निर्मलाको न्यायका लागि लागेको १ सय ३२ दिन भइसक्यो, अहिलेसम्म पनि न्याय पाइएको छैन’ अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘दोस्रो चरणको कार्यक्रम गरिरहेका छौं, निर्मलाले न्याय नपाएसम्म आन्दोलन जारी हुन्छ। ’उनले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्या भएको चारमहिनाभन्दा बढि भइसक्दा समेत अहिलेसम्म पनि हत्यारा पक्राउ नगरेको भन्दै चरणबद्व आन्दोलनका कार्यक्रम गर्न बाध्य भएको बताइन्। धर्नामा महिला अधिकारकर्मीसहित अन्य सर्वसाधारणसमेत सहभागी थिए।

नागरिक संघर्ष समितिका अनुसार शनिबार २२ गते सार्वजनिक ठाउँ र सवारीमा स्वर्गीय निर्मला पन्तको फोटोसहित सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोष्टर टाँस्ने, २३ गते तराजु, राष्ट्रिय झण्डासहित आँखामा कालोपट्टी बाँधेर २ घण्टा धर्ना दिने, २४ गते प्रशासन कार्यालय र २५ गते मुख्यमन्त्री कार्यालय बाहिर स्वर्गीय निर्मला पन्तको शव बनाएर धर्ना दिने र २६ गते बिहान प्रभात फेरी सहित प्रशासन कार्यालय बाहिर होम गर्ने कार्यक्रम तय गरिएका छन्।

परिवारले छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि शुरु गरेको अनिश्चितकालीन धर्ना जारी रहेको छ। परिवारका सदस्यको धर्ना जारी भइरहँदा नागरिक संघर्ष समितिले समेत धर्ना कार्यक्रम शुरु गरेको हो। यसअघि बिहीबार मानव साङ्गलो बनाएर प्रदर्शन गरिएको थियो। साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको १ सय ३१ दिन बितिसकेको छ। तर अहिलेसम्म पनि हत्यारा सार्वजनिक भएका छैनन्।

साउन १० गते साथी रोेशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै रहेको उखुबारीमा शव भेटिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस