बैशाख ८, काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गर्दै कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन निवेदन दिएका ती स्वास्थ्य संस्थाको विशेषज्ञसम्मिलित समितिले अनुगमन गर्ने जनाएको छ ।
मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमन/निरीक्षणमा सहयोग गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अघिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ । चारमध्ये तीन वटा टोली उपत्यका बाहिरका अस्पतालको निरीक्षणमा जानेछ भने उपत्यकामा एक टोलीले निरीक्षण गर्नेछ ।
अनुगमन टोलीले १५ दिनभित्र सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको निरीक्षण गरी तोकिएको मापदण्ड पुगेको स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिन सरकारलाई सिफारिश गर्नेछ ।