बैशाख १२, काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माणका लागि बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारबाट ४१० अर्ब अमेरिकी डलरको प्रतिबद्धता प्राप्त भएकोमा अहिलेसम्म २६२ अर्ब डलर अमेरिकी डलरबराबर सहायता परिचालन सम्झौता भएको छ।
पुनर्निर्माणका लागि प्राप्त कतिपय सहायताअन्तर्गत परियोजना कार्यान्वयनमा छन्। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि राहत, उद्दार र पुनर्निर्माणका लागि दातृ निकायबाट सहयोगको प्रतिबद्धता आएको हो।
नेपालले भूकम्प पुनर्निर्माणका लागि २०७२ असार १० मा दातृ सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा आएको प्रतिबद्धता ४१० अर्ब रुपैयाँमा दातृ निकायले राहत, उद्धार पुनस्र्थापनामा गरेको खर्चसमेत जोडिएको थियो। दातृ निकायले राहत, उद्धार पुनस्र्थापनामा करिब ६७ अर्ब रुपैयाँ खर्च भएको जनाएका छन्।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रतिबद्धतामध्ये अधिकांश रकम परिचालनका लागि सम्झौता भइसकेको बताए। ‘सम्झौता भए पनि कतिपय दातृ निकायको सहयोग हाम्रो आवश्यकताअनुसार परिचालन गर्न सकिएको छैन’, ज्ञवाली भन्छन्, ‘हाम्रो आवश्यकता र दाताको शर्तबीच सामञ्जस्यता नहुँदा यो समस्या भएको हो।’
पुनर्निर्माण प्राधिकरणले २०७२/७३ देखि काम सुरु गरेकोमा यो आवमा २२ अर्ब रुपैयाँ खर्च भएको थियो। त्यसयता २०७३/७४ मा ४९ अर्ब रुपैयाँ र २०७४/७५ मा ११४ अर्ब रुपैयाँ खर्च भएको थियो। चालु आर्थिक वर्षका लागि १५१.०८ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले गत आर्थिक वर्षको भन्दा केही बढी रकम खर्च हुने अनुमान रहेको बताएका छन्। पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षमा १२३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ।