बैशाख ३०, काठमाडौँ । नेपाल इन्जिनियर एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएका वडा सदस्यलाई कारवाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।
समितिका सभापति नन्दलाल बन्जाडेको नेतृत्वमा इन्जिनियरहरुको टोलीले गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।
झोलुङ्गे पूल उपभोक्ता समितिसँग गरिएको सम्झौता सम्बन्धी बिषयलाई लिएर अछाम जिल्ला समन्वय समिति सदस्य बेदप्रकाश तिमिल्सिनाले अछामको पुर्वाधार विकास कार्यालय सांफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई अश्लील शब्द प्रयोग गर्नुका साथै काट्ने, मार्ने धम्की समेत दिएका थिए।
तिमिल्सिनाले भने बमोजिम काम नभएपछि इन्जिनियरलाई तथानाम गालीगलौज गरेको अडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भईरहेको बन्जाडेले बताए।
गृहमन्त्रीसँग बन्जाडेले इन्जिनियरहरु माथि यस प्रकारको घटना श्रृखंलावद्ध रुपमा भईरहेको र यसअघि पनि सिन्धुली तथा सिन्धुपाल्चोकमा समेत इन्जिनियर कुटिएको विषयलाई दर्शाएका थिए।
इन्जिनियरहरुको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले सिन्धुली र सिन्धुपाल्चोकको घटनाका विषयमा आफूलाई जानकारी नभएको र अछाममा इन्जिनियर माथि ज्यान मार्ने धम्की आएको बिषयमा आफूले निर्देशन समेत दिईसकेको जानकारी गराएका छन्।