सामुहिक हत्याकाण्ड : अनुसन्धानको केन्द्र ज्वाँई वरीपरी !

Post Thumbnail

जेठ ७,पाँचथर । सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएपछि अनुसन्धान सुरु भएको छ । प्रहरीले हत्याको विषयमा सक्रिय भएर खोज गरिरहेको बताएको छ ।

सोमबार राती ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको थियो ।

आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । आक्रमणकारीको पञ्जाबाट भागेर ज्यान जोगाउन सफल भएकी किशोरी सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको प्रहरी समक्ष बयान दिइन् ।

सीता बमबहादुर फियाकको नातिनी हुन् । सीता मामाघर आएकी थिइन् । आक्रमणबाट सीता पनि गम्भीर घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको छ । उनको हाल दमकमा उपचार भइरहेको छ ।

अनुसन्धानको केन्द्र ज्वाँई वरीपरी

राती नै हत्या भए पनि प्रहरीले हत्याबारे बिहान मात्र खबर प्राप्त गरेको थियो । खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको सामान्य अनुसन्धान गरिरहँदा सोही गाउँपालिकामा अर्को खबर आयो – वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो ।

प्रहरीको एउटा टोली त्यतैतिर सोझियो । प्रहरीले मिक्लाजुङ गाउँपालिका –७ मा एक युवकको झुण्डिएको अवस्थामा शव देख्यो । प्रहरीले लगत्तै अनुसन्धान थाल्यो ।

प्रहरी अनुसन्धानको क्रममा झुण्डिएर आत्महत्या गर्ने व्यक्तिको पहिचान भयो –मानबहादुर माखिम । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको खुल्यो ।

प्रहरीका अनुसार घटनामा बाँच्न सफल सीता मानबहादुरको सालीकी छोरी हुन् ।

सामूहिक हत्या कसले गर्यो भनेर प्रहरीले आधिकारिक रुपमा केही खुलाएको छैन । तर, छिमेकी र परिवारका अन्य सदस्यको बयान र घटनामा बाँच्न सफल सीताको बयानले आत्महत्या गरेका मानबहादुरले हत्या गरेको हुनसक्ने आधारहरु देखाएका छन् ।

मानबहादुर र श्रीमती मनकुमारी फियाकबीच विगत केही वर्षदेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।

सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको थियो ।

यता, सीताले पनि घटनामा एक जना मात्र आक्रमणकारी देखेको बायन दिएको कारण मानबहादुरले पारिवारिक रिसिबीका कारण हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस