जेठ १०, काठमाडौँ । लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरण अन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।
आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्ति सम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ ।
कार्यतालिका अनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो ।
आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ । खुला प्रतिस्पर्धाका लागि झन्डै ८ हजारको संख्यामा विज्ञापन आह्वान हुने आयोगको आँकलन छ ।