जेठ २१, रसुवा । रसुवामा सोमबार साँझ टाटासुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। तीन जना वेपत्ता भएका छन्।
पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नं को टाटासुमो मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको कालिका र गोसाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा सडकबाट त्रिशुली नदीमा खसेको हो।
दुर्घटनामा घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा दुई महिला र एक पाँच वर्षीय बालक छन्। घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ।
गाडी सडकबाट करीब एक सय मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीले जानकारी दिए। घटनास्थलमा प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयले वेपत्ताहरुको खोजी गरिरहेका छन्।
जिप नदीमा डुबेकाले वेपत्ता भएका तीनजनालाई त्रिशुलीले बगाएको आशंका गरिएको छ।
जिपमा चालकसहित ११ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।