असार ६,धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या पाँच पुगेको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीय समिक्षा अधिकारीको उपचारका लागि लगिदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले घटनास्थलबाट जानकारी दिए ।
दुर्घटनामा १० जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाईएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आईपुगेको स्थानीय हेमन्त भण्डारीले जानकारी दिए ।