असार ७,काठमाडौँ । कोटेश्वरदेखि कलङ्की सडक खण्डमा सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, कल्कीफूल, जाकाराण्डा, करवीरलगायत प्रजातिका करीब तीन हजार ५०० ठूला साइजका बिरुवा एकैपटक रोपन गरिने कार्यक्रम छ । वन तथा भू–संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा विरुवा रोप्ने तयारी गरिएको हो ।
यही असार १४ गते बिहान ८ बजे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा रोपन हुने उक्त कार्यक्रममा नेपाल वन पैदावार उद्योग महासङ्घले कोटेश्वरदेखि बालकुमारी पुलसम्मको एक किलोमिटर खण्डको दुवैतर्फ आफ्नै खर्चमा रोपन गर्ने भएको छ ।
त्यस्तै वृक्षरोपण कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष, एफएओ नेपाल, डब्लुडब्लुएफ नेपाल, रेड पाण्डा नेटवक, चक्रपथ सडक सुधार आयोजनालगायत संस्थाले आर्थिक सहयोग उपलब्ध गराउने विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीले जानकारी दिए ।