सर्लाही गोलीकाण्ड : मृतकको शव तीन दिनदेखि अस्पतालमा

Post Thumbnail

असार १७,सर्लाही । गत आइतवार सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर मृत्यु भएका युवक र गौरीशङ्करस्थित एक पोखरीमा डुबेर मृत्यु भएका बालकको शव अझै आफन्तले बुझेका छैनन् ।

शव पोष्टमार्टम गरी तीन दिनदेखि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । अस्पतालमा शव पोष्टमार्टम गरेपछि राख्ने आइस नहुँदा दुवै शव गन्हाउन थालेको चिकित्सकले बताएका छन् । दुवै मृतकलाई शहीद घोषणा गर्नुपर्ने, सर्लाही र महोत्तरी भएर बग्ने बाँके खोलामा भैरहेको जथाभावी उत्खनन् रोक्नुपर्ने, गिट्टी बालुवा निकाल्दा बनेको गहिरो खाल्डो पुर्नुपर्ने, बाँके जङ्गलमा भएको गोलीकाण्ड घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने र बस्ती छेउमै सञ्चालित क्रसर उद्योग बन्द गर्नुपर्ने माग राख्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा डोजर लगाएर गिट्टी बालुवा निकाल्दा बनेको गहिरो खाल्डोमा डुबेर ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका एघार वर्षीय अमित रायको मृत्यु भएको थियो । बालकको मृत्युपछि आक्रोसित स्थानीयले उनको शव पूर्व–पश्चिम राजमार्गस्थित बाँके चोकमा ल्याएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले सडक खुलाउन खोज्दा दोहोरो झडप भएको थियो ।

झडपमा प्रहरीले चलाएको गोली लागेर गौरीशङ्करकै २८ वर्षीय देवन भन्ने सरोजनारायण महतोको घटनास्थलमै मृत्यु भएको थियो । गोली लागेर घाईते अर्का स्थानीय २१ वर्षीय राजकुमार महराको जनकपुरमा उपचार भैरहेको छ । प्रदर्शनको क्रममा स्थानीयबाट ढुङ्गामुढा प्रहार हुँदा एघारजना नेपाल प्रहरी र छजना सशस्त्र प्रहरी समेत घाईते भएका थिए ।

गोलीकाण्डपछि थप आक्रोसित भएका स्थानीयवासीले मङ्गलवार बिहान गौरीशङ्करको महारानी बजारमा प्रदर्शन गरेका छन् । मङ्गलवार साँझ सदरमुकाम मलङ्गवामा समेत मशाल जुलुस प्रदर्शन गरिएको छ । स्थानीयवासीले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

स्थानीयको तर्फबाट आन्दोलनको नेतृत्व गर्नुभएका सर्लाही क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य प्रमोद साहले दुवै मृतकलाई शहीद घोषणा, खोलाको अवैध दोहन रोक्नुपर्नेलगायतका माग पुरा नभएसम्म मृतकको शव नबुझ्ने बताए । उनले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको माग सम्वोधनका लागि केन्द्रीय स्तरमा निर्णय नभएसम्म शव नउठाइने बताए ।

सोमवार सदरमुकाम मलङ्गवामा बसेको सर्वदलीय बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवारी गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पीडित पक्ष र सर्वदलीय बैठकबाट आएका मागमध्ये सम्भव भएसम्मका माग सम्वोधनका लागि माथिल्लो निकायमा पहल भैरहेको बताए ।

उनले पीडितलाई सरकारी मापदण्ड अनुसार राहत दिने र अन्य माग सम्वोधनका लागि प्रशासनबाट पहल हुँदाहुँदै पनि मृतकका परिवारलाई शव बुझ्न नदिने राजनीति नगर्न सबैमा आग्रह गरे।

ताजा अपडेट

खोजी गर्नुहोस