असार २४,धादिङ । नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष ४५ वर्षीय बाबुराम लम्साललाई २ शिक्षकसहित चार जनाले कुटपिट गरी घाइते बनाएका छन् ।
मंगलबार सडक अनुगमनको क्रममा गाउँ पुगेका बेला नीलकण्ठ नगरपालिका–१२, कुँडुलेफाँटमा खानेपानीको विषयमा विवाद हुँदा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाको उपस्थितिमा २ शिक्षक सहितका व्यक्तिहरुले कुटपिट गरेको वडाअध्यक्ष लम्सालले बताए ।
वडाध्यक्षलाई कुटपिट गर्नेहरुमा सांङकोष माविका शिक्षक ५२ वर्षीय युवराज रिजाल, पंडितचौर आधारभूत विद्यालयका शिक्षक ४७ वर्षीय बलराम रिजाल, पूर्व शिक्षक ५५ वर्षीय नानीराम रिजाल र २९ वर्षीय दिपक रिजाल रहेका छन् । आरोपितहरु सबै नीलकण्ठ नगरपालिका-१२ का बासिन्दा हुन् ।
मेयर ढुंगाना र वडाध्यक्ष लम्सालसहितको टोली कुँडुले देउराली बटुवा सडक अनुगमनको क्रममा समुदायसँग छलफल गर्दै गर्दा वडाअध्यक्षलाई कुटिएको थियो ।
कुँडुले क्षेत्रमा १ सय घरलाई खानेपानी ल्याइएको मुहान आफूहरुको परेकोले नदिने अडान राख्दै आएका व्यक्तिहरुले एक्कासि उहाँमाथि आक्रमण गरेका थिए । अनुहार, टाउँकोमा चोट लागेको अवस्थामा नगरप्रमुख ढुंगाना र अन्य केही सहयोगीहरुले वडाध्यक्ष लम्सालको उद्धार गरेको र घाइते वडाध्यक्षको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
आरोपित चारै जनाविरुद्ध वडाध्यक्ष लम्सालले अभद्र व्यवहार अन्तरगत जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले घटनाको सम्बन्धमा उजुरी आएको तर दुवै पक्ष छलफलमै भएकोले मुद्दा दर्ता नभइसकेको बताए ।
रासस