भाद्र १, काठमाडौँ । समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहीन हुन थालेका छन्। नवौं, दसौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई पदस्थापन गर्न थालेको छ। यहाँबाट ११ विशेषज्ञको पदस्थापन अन्य प्रदेशमा भएको छ। अन्यत्रबाट भने एक जना मात्रै पदस्थापन हुने सूची प्रकाशन भएको छ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले समायोजनको पत्र आएको १० दिन नाघेको बताए। ‘रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पताल खाली हुने भएकाले हामीले रमाना दिएका छैनौं’, उनले भने, ‘तर, २१ दिनभित्र रवाना दिनै पर्ने प्रावधान छ।’
उनका अनुसार संघ र प्रदेशको सामाजिक विकास मन्त्रालयमा समायोजन भएकाले अस्पताल डाक्टरविहीन भइरहेको विषयमा पत्र पठाइएको छ।
सेतीमा २४ जनाको दरबन्दीमा तीन जना मात्रै बाँकी रहने भएका छन्। ११ औं तहका डाक्टर पाण्डेय, १० औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीबाहेकका डाक्टरको सरुवा भइसकेको छ।