भाद्र ४, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणकी आरोपित अस्मिता कार्की अलपत्र परेकी छन्।
उनका पक्षमा बहसका लागि कुनै पनि अधिवक्ता तयार नभएका हुन्।
अर्का अभियुक्तद्वय रवि लामिछाने र युवराज कँडेलका पक्षमा पूर्वमहान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताले वकालत गरे पनि अस्मिताका पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ।
चितवन जिल्ला अदालतले पत्रकार पुडासैनी आत्महत्या प्रकरणका आरोपित पत्रकार रवि लामिछाने, कँडेल र अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अनुसन्धान नसकिएकाले थप समय माग भएअनुसार पाँच दिन पुनः म्याद थप भएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रकाश थापाले जानकारी दिए।
प्रतिवादी रवि र युवराजका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनील पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए।