के तिमीलाई रवि साँच्चै दोषी लाग्छ ?

Post Thumbnail

-जे सागर
राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तिको लागि २००७ सालको क्रान्तिमा सामेल भएका जनतालाई पनि राणाहरुले भीड नै सम्झेका थिए । २०४६ को जन आन्दोलनलाई पनि मरिचमान सिंह लगायत पन्चेहरुले भीड नै सम्झेर जबसम्म आकाशमा चन्द्र सुर्य रहनछ ,तबसम्म नेपालमा पन्चायत ब्यवस्था रहन्छ भनेर ओठ लेप्र्याउँथे । २०५२ मा केही सामान्य माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र बागबजारको रातो घर अगाडिको भित्तोमा केही नारा लेख्ने तात्कालिन माओवादीलाई पनि कांग्रेस लगायतका त्यसपछिका सरकारले गिन्ती मै नल्याएको एउटा सानो झुन्ड सम्झन्थे । २०६२/६३ को दोस्रो जन आन्दोलनलाई ज्ञानेन्द्र शाह र कमल थापाहरुले भीड पनि नसम्झी बेरोजगारहरुको चिया गफको आक्रोश सम्झन्थें ।

ए सत्तामा बस्नेहरु हो ! यसो सोच त …. आज देशको बागडोर सम्हाल्ने तिमीहरुलाई नै हिजो सत्ताका मात लागेकाहरुके कसरी भेडा ,बेरोजगार र अराजक भीड सम्झन्थे !! तर त्यसको नतिजा के भयो ? याद छ नि !! त्यही बेरोजगार ,अन्धो ,भेडो ,अराजक भीडकै कारण आज तिमीहरु सत्तामा छौ । हो कि हैन ? एकपटक छातीमा हात राखेर सोच त !! बरु तिमीहरूको भीड त कतिपय अवस्थामा स्वस्फूर्त थिएनन् होला ! कसैलाई डराएर धम्क्याएर ,कसैलाई आश्वासन र प्रलोभनमा पारेर ,केही विवेक बेचेका सस्ता मान्छेहरुलाई एकछाक मासु भात र बेलुकाको एक बोतल रक्सीको जोरजाम गरिदिएर ,कोही अनाडी गाउँले बस भाडा नतिरिकन सित्तैमा काठमाडौ घुम्न पाइने लालसामा जम्मा भएका थिए होलान् । तर नेपाली राजनीति ,समाजसेवा ,सामाजिक देन दिने व्यक्तित्व या अन्य कुनै व्यक्ति विशेषको इतिहास पल्टाएर हेर्छौ भने इतिहासको कुनै पनि कालखण्डमा एउटा जाबो व्यक्ति ,त्यो पनि प्राइभेट टेलिभिजन कम्पनीमा काम गर्ने एउटा सामान्य टिभी पत्रकारको समर्थनमा जुटेको यो स्वस्फूर्त भीड तिमीलाई कुनै प्रायोजित र स्वार्थ केन्द्रित लाग्छ ? के रविले कसैलाई म बाहिर निस्केपछि तँलाई जागीर खुवाइदिन्छु ,तेरो पदोन्नति गरिदिन्छु, तँलाई मासुभात खुवाउँछु, तँलाई बिदेश पठाइदिन्छु या मलाई समर्थन गरिनस् भने पख्लास तँलाई छोड्दिन भनेको भएर यो भीड जम्मा भएको हो ? यो भीड देख्दा तिमीहरूलाई अलिकति सरम लाग्दैन ? अलिकति ईर्ष्या लाग्दैन ? अलिकति चस्स मन दुख्दैन ?

एक्कैछिनको लागि पार्टीको नुन बिर्स, गुन बिर्स, चाटुकार र हनुमानको पगरी शिरबाट उतार अनि नेपाल आमालाई सम्झ ,जन्मेको माटो र आफ्नो आत्माको कसम खाउ , देशको भद्रगोल अवस्था सम्झ, यसका दोषीहरु सम्झ, पार्टीको झोले र हनुमान नबन , चिसो पानीले नुहाउ, ओछ्यानमा पल्ट, छातीमा हात राख अनि आँखा चिम्म गरेर आफ्नै मनलाई सोध – तिमीलाई रवि लामिछाने कुनै पनि कोणबाट दोषी लाग्छ ? ए मित्र फेरि एकपटक आफ्नो आमाको कसम खाँदै आफ्नै मनलाई प्रश्न गर- के साँच्चै तिम्रो मनले रविलाई दोषी नै देख्छ ? अब पनि देख्यो भने चाहिँ हुनसक्छ दालमे कुछ काला हे ! तर मलाई विश्वास छ, यसरी सोच्दा रविले नांगो पारेका दुई चार हजार दलाल तस्कर र भ्रष्टाचारी बाहेक अरु कसैको नजरले दोषी देख्दैन ।

हो म बुझ्छु – तिमी एउटा पत्रकार हौ ,तिमीलाई रवि जस्तै पत्रकार हुननसकेको आत्मग्लानी छ । कुण्ठा छ । त्यो कुण्ठाले तिमीलाई सत्य बोल्न रोकेको छ ।तिम्रो जलन बोलेको छ ।

हो म बुझ्छु – तिमी एउटा पार्टीको सदस्य छौ ,त्यो पार्टीले रविको विरुद्धमै बोल्नुपर्ने एउटा एउटा धारणा तय गरेको छ (सायद इन्टर्नल व्हिप नै जारी गरेको छ ) ,नभए पनि तिम्रा आराध्यदेवको कुनैबेला विरोध गरेको छ । त्यसैले तिमीले आफ्नो विवेक र स्वाभिमान बन्दकी राखेर तिमी सुगा रटाइको भाषा बोल्दैछौ ।

तर मित्र तिमी नबिर्स ,तिमी एउटा निश्चित जात ,धर्म, क्षेत्र, वर्ग ,राजनीति, पेशा, आस्था भन्दा पहिले एउटा मान्छे हौ । नेपाली हौ । तिम्रो आमाले तिमीलाई पेटमा राख्दा मेरो सन्तान आफ्नो स्वार्थको खातिर यत्ति सम्म गद्दार ,झुट र नालायक बनोस् भनेर सोचेकी थिइनन् । मान्छेले सबैलाई ढाट्न सक्छ ,थर्काउन सक्छ, पगाल्न सक्छ ,तर मनलाई ढाँट्न सक्दैन ।

ती नेताहरुका कुरा छोडिदेउ , हिजो हामी मारामार गर्दा पनि उनीहरु उस्तै गरि टाउको जोडेर बस्थे, त्यो भ्रष्ट पुलिस प्रशासन र कर्मचारीको कुरा छोडिदेउ जहाँ पाई पाइमा न्याय कुल्चिएको तिमी हामीले देखेका छौं । मात्र अन्तिम एकपटक आफ्नो व्यक्तिगत स्वार्थ, आत्मग्लानी ,कुण्ठा, जलन पर राखेर छातीमा हात राख्दै मनलाई साक्षी राखेर तिम्रो आफ्नै विवेकले जवाफ देऊ – के तिमीलाई रवि साँच्चै दोषी लाग्छ ?

ताजा अपडेट

खोजी गर्नुहोस