भाद्र ७, काठमाडौं । महोत्तरी बर्दिबास-३, गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए।
उनको शव बीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो।
एक महिनापछि सरोजको हत्या भएको खुलेको छ। पत्नी पूजाले भाडाका पाँच अपराधी प्रयोग गरी हत्या गराएको पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकरीले बताए।
‘गम्छामा ढुंगा बाँधेर सरोजको टाउकामा हिर्काएर हत्या गरेको पोस्टमार्टमा रिपोर्टमा देखिएको छ,’ उनले भने, ‘सरोजको हत्या गर्न साढे ४ लाखमा डिल भएको रहेछ।’
भाडाका व्यक्तिले अढाई लाख नगद लिइसकेको पाइएको उनले बताए।
प्रहरीले चार अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। एक जना फरार छन्।