-राज ढुंगाना
भाद्र ३१,धनुषा । दुई नम्बर प्रदेशको राजधानीको रुपमा रहेको धनुषा र महोत्तरी जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले दुवै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन । दुईवटै घोषणा कार्यक्रममा प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राउत थिए । खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दै मुख्यमन्त्री राउतले कुनै त्यस्तो ठाँउमा शौचालय बनाउन छुटेको र बनाउन नसक्ने परिवार भेटिए प्रदेश सरकारले सहयोग गर्ने बताए ।
राउतले भने – ‘सबैको सहयोगमा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएका छौँ । अव प्रदेश सफा पानीको लागी पनि योजना बनाएर अघि बढ्छ ।’ उनले स्वच्छ पानी र स्वच्छ वातावरणको लागी कुनै किसिमको कसुर बाँकी राख्ने बताए । कार्यक्रममा दुई नम्बर प्रदेशका आन्तिरिक मामला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दै सुन्दर धनुषाको परिकल्पना गरिएको बताए । जिल्ला खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समितीले शत प्रतिशतले शौचालय बनाएको दावी गरेको छ ।
राष्ट्रिय सरसफाई समन्वय समितीका सदस्य सचिव देवेन्द्र झा ले देश पुर्ण सरसफाईमा लागिरहेकोले धनुषा र महोत्तरी जिल्ला पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएकोमा खुसी व्यक्त गरे । उनले सवैभन्दा पहिला घरमा शौचालय हुन जरुरी रहेको बताउदै प्रत्येक नागरिकको घरमा शौचालय बनाउन स्थानीय,प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । सार्वजनिक शौचालयको निर्माणमा स्थानीय सरकारको विशेष जोड हुनुपर्ने भन्दै उनले सरसफाईले नै सम्बन्धित स्थानको परिचय दिने बताए ।
नागरिकमा सचेतना आउन जरुरी
मंगलबार जिल्लालाई खुल्ला दिशामुक्त गरिएपनि भोलीपल्ट जानकी मन्दिर जाने स्थानको छेउमै बिहानीपख नै खुल्ला ठाँउमा दिशा गरिएको देखिएको थियो । आम नागरिकले सोमबार नै कार्यक्रमस्थलमा के भईरहेको छ ? भन्ने प्रश्न गर्दा उनिहरुले अनविज्ञता प्रकट गरेका थिए । स्थानीयले नेताहरुको भाषणको रुपमा त्यस कार्यक्रमलाई टारेका थिए । जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ घर भएका रञ्जित यादवले भने– ‘खुल्लादिशामुक्त क्षेत्र घोषणा गरेर मात्रै हुन्न, प्रत्येक परिवारले शौचालय त बनाउनै पर्छ तर बाहिर बाट आएका आगन्तुकसहित अप्ठ्यारोमा परेकालाई सार्वजनिक शौचालय पनि त बनाउन पर्यो ।’
उनले स्थानीय र प्रदेश सरकारले सरसफाईको क्षेत्रमा काम गर्न नसकेको बताए । मिथिला नगरपालिकाकी उपप्रमुख सिता लामाले स्थानीय सरकारले सरसफाईमा ध्यान दिएको दावी गरिन् उनले अव नागरिक आफैमा सचेतना आउन जरुरी छ । जसको लागी हामी पहल गरिरहेका छौँ । उनले सबैभन्दा पहिला सोच परिवर्तन हुन जरुरी रहेको बताईन । नागरिक र सरकार मिलेर नै सफा र स्वच्छ वातावरणको लागी प्रयास गरिनुपर्नेमा जोड दिईन । खासगरी मधेसका ग्रामिण भुभागमा शौचालयमा दिशा गर्नुपर्छ भन्ने सम्मको चेतना विकास भईसकेको छैन । उनिहरु खुल्ला ठाँउमै दिशापिशाव गर्न रुचाउछन । जसले गर्दा बर्षेने झाडापखालाले दर्जनौ व्यक्तिको ज्यान गईरहेको छ ।
नागरिकको सोच फेरिदैछ
महोत्तरी जिल्लामा रहेको जलेश्वर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बिजयकुमार सिंहको यतिबेला हाईहाई छ । उनले प्रत्येक घरमा शौचालय बनाउन जोड दिए । अधिकांश नागरिकले जस्तो सकिन्छ त्यस्तै शौचालय बनाए । आफ्नो पारिवारिक स्थती अनुसार वडावासीले शौचालय बनाएका छन । वडा नम्बर ८ की गायत्रीदेवी ठाकुरले घरकै आडमा शौचालय बनाएकी छिन ।
वडाले दिएको ३ वटा रिङ र पाईपका साथै आफ्नो थप लगानीमा उनले शौचालय बनाएकी छिन । उनि भन्छिन– ‘२५ हजार लाग्यो,घरमै शौचालय बनाएको छु, बाहिर शौच गर्न जान पर्दैन्, अरुले देख्दापनि देख्दैनन्, लाजपनि हुन्न ।’ उनले कुनैबेला आसपासको जंगल र बाटोमा हिड्नै नसकिएको कथा पनि सुनाईन । तर अहिले त्यस्तो र्छैन । वडा नम्बर ८ कै सुरेन्द्र प्रसाद सिंह भन्छन–’मलाई त आफैमा सचेतना आएको हो , घरमा पक्की शौचालय बनाएको छु ।’ आफ्नो घरछेउमै रहेको जंगल कुनैबेला हिड्न नसक्ने अवस्थामा रहेकोमा अहिले बस्तुभाउलाई घाँस, स्वाउला ल्याउन ढुंक्कले जाने गरेको बताए ।
उनले आफ्नो टोल छिमेकमा पनि शौचालयमै शौच गर्न जान सल्लाह दिदै आएका छन । छिमेकी पनि अहिले खुल्ला ठाँउमा दिशा गर्न जाँदैनन् उनि भन्छिन–’सबैचन्दा पहिला आफुमा परिवर्तन आउन पर्यो ।’ शिक्षा र चेतनाको विकासले मात्रै नागरिकमा सरसफाईको सोच आउने उनको विश्यास थियो ।