असोज ७, काठमाडौं । सप्तरीमा विश्वकर्मा भगवानको मूर्ति सेलाउने क्रममा एक युवाको डुबेर मुत्यु भएको अवस्थामा सोमबार शव फेला परेको छ।
मूर्ति सेलाउन सप्तकोशी नदी गएका सप्तरीको कञ्चनपुर नगरपालिका–२ बरमझियाका २० वर्षीय अमिर खाँको शव चार दिनपछि फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाको जोगिनियास्थित कोशी नदीमा खाँको शव फेला परेको इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक सागिर राइनले बताए।
मृतकका आमा नजबुन खातुनका अनुसार कञ्चनरुप नगरपालिका बेरियरस्थित विनोद साहको मारुती ग्यारेजमा अमिर मजदुरी गर्दथे। ग्यारेजमा गरिएको विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न अन्य मजदुरहरु साथीहरुसहित अमिर बिहीबार कोशी नदी गएका थिए।
यसअघि शुक्रबार सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित सप्तकोशी नदीको पश्चिमी नहरमा मूर्ति सेलाउन गएका राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा कार्यरत २२ वर्षीय मनिषकुमार यादवको शव फेला परेको थियो।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव डेरीमा बनाइएको मूर्ति पूजाआजापश्चात सेलाउने क्रममा बिहीबार साँझ बेपत्ता भएकोमा शुक्रबार शव फेला परेको थियो।