आश्विन ,धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाले सन् २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२ भित्र आ – आफ्नो गाउँपालिकालाई सफा र स्वच्छ क्षेत्र तथा सन् २०२५ भित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
धादिङको रुवीभ्याली र गंगा जमुना गाउँपालिकाका लागि आयोजित पुर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण तथा रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीमा गंगा जमुना गाउँपालिकाका प्रमुख बल बहादुर अधिकारी र रुबीभ्याली गाउँपालिकाका वडाअध्यक्षहरु पेम्बा घले ,कामीलाल तामाङ, नरमान गुरुङ र गमान तामाङले गाउँपालिकालाई सफा र स्वच्छ क्षेत्र एवं पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएका शान्ति नेपालका अनुगमन मुल्याङ्कन सहायक अधिकृत सुरेश सिग्देलले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख बनाउन २०७६ पुस मसान्त भित्र रणनीतिक योजना बनाउने गरी दुवै गाउँपालिकामा ७–७ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यशाला गोष्ठीमा गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउन अवसर तथा चुनौतीको समेत बिश्लेषण गरिएको थियो ।
यसअघि शान्ति नेपालको सहजीकरणमा धादिङको ज्वालामुखी गाउँपालिकाको पूर्ण सरसफाइ रणनीतिक योजना निर्माण भईसकेको छ भने सिद्धलेक गाउँपालिकाको रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
प्रारम्भिक सवेक्षणमा चर्पीको समुचित प्रयोग ६१ प्रतिशत
शान्ति नेपालले दुवै गाउँपालिकाका वडाको प्रारम्भिक सवेक्षण गर्दा ६१ प्रतिशतले चर्पीको समुचित प्रयोग गरिएको भेटिएको थियो । सर्बेक्षण प्रतिबेदन वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरुले प्रस्तुत गरे ।
पूर्ण सरसफाइको सूचकहरुमा आधारित प्रारम्भिक सर्बेक्षण गर्नको लागि शान्ति नेपालले सहजीकरण गरेको थियो । सर्बेक्षण रुवीभ्याली गाउँपालिकाको सबै वडा र गंगाजमुना गाउँपालिकाको वडा नं. १ र २ मा गरिएको थियो । प्रतिबेदन प्रस्तुत पश्चात गाउँपालिका तथा वडाहरुको सरसफाइको स्थिति बुझ्ने अवसर पाएको सहभागीहरुले बताएका छन् ।
यस्तो छ समग्र सर्वेक्षणको नतिजा
चपीको समुचित प्रयोग – ६१ प्रतिशत
सुरक्षित खानेपानीको पहुँच – ४२ प्रतिशत
घर तथा घर वरपरको सरसफाइ – २१ प्रतिशत
सुधारिएको चुलो प्रयोग – ४ प्रतिशत
स्वच्छ खानाको पहुँच – ११ प्रतिशत
पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण शान्ति नेपालका कार्यकारी निर्देशक एवं सरसफाइविद डा कृष्णमान शाक्यले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा सरसफाइको महत्व, सरसफाइ गुरुयोजना, पूर्ण सरसफाइका सूचकहरु, सफा र स्वच्छ गाउँ बनाउन स्थानिय सरकारको जिम्मेवारी लगायत बिषय समेटिएको थियो ।
धादिङ जिल्ला समन्वय अधिकारी जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा सञ्चालित कार्यशालामा गंगा जमुना गाउँपालिकाका प्रमुख बल बहादुर अधिकारीले कुहिरोमा हराएको काग जस्तै रहेको अवस्थामा कार्यशालाले छर्लङ्ग पारिदिएको बताए ।
धादिङको सलाङघाटमा जिल्ला समन्वय समिति धादिङको आयोजना एवं रुवीभ्याली र गंगाजमुना गाउँपालिकाको सह आयोजनामा सञ्चालित कार्यशालामा शान्ति नेपालले सहजीकरण र सहयोग गरेको थियो ।
सहकार्य:वासखवर