असोज १८, पाल्पा । रामपुर नगरपालिकाका युवा कृषक नरनारायण अर्यालले दूध बिक्रीबाट मनग्य कमाइ गर्छन् । अर्यालले श्री लक्ष्मी उन्नत भैँसीफार्म दर्ता गरी गएको जेठ १६ गतेदेखि व्यावसायिक तवरबाट उन्नत जातका भैँसीपालन व्यवसाय शुरु गरेका हुन् ।
दूध बिक्रीबाटै मासिक रु. ६ लाख १५ हजार बराबरको आम्दानी हुने गरेको छ । अहिले दैनिक दुई सय पाँच लिटर दूध प्रतिलिटर रु. एक सयमा बिक्री गरी रु. २० हजार ५०० दैनिक आम्दानी लिँदै आएको अर्याल बताउँछन् ।
उनको फार्ममा हाल ६२ वटा भैँसीमध्ये २४ वटा दुहुना रहेका छन् । भारतको गोरखपुर, हरियाणाबाट उन्नत जातका भैँसी खरीद गरी अर्यालले व्यवसाय शुरु गरेका हुन् ।
एउटा भैँसीलाई रु. एक लाख ६२ हजारसम्म खरीद मूल्य परेको छ । कृषि व्यवसायमा सानैदेखि सौख राख्ने अर्यालले व्यावसायिक रूपमा ठूलो लगानीमा पशुपालन व्यवसाय रोजेको बताउछन् ।
“बाल्यकालमा पनि विद्यालय पढ्दा आफैँले घरमा तरकारी, फलफूल लगाउने र आफ्नो खर्च आफैँ जुटाउने गर्थे, गाउँमा प्रशस्त जग्गा छ, कृषिमै केही गरौँ भनेर अहिले व्यावसायिक रूपमा भैँसीपालन व्यवसाय रोजेको छु” उनले भने ।
यस व्यवसायबाट ६ जना युवालाई रोजगारी मिलेको छ । एक सय ५० वटा भैँसीपालन गर्ने उनको सोच छ । “फार्म सञ्चालनका क्रममा १५ भैँसीबाट व्यवसाय शुरु गरेको हुँ, थप गर्दै जाँदा अहिले ६२ पुगेको छ, अबको दुई वर्षभित्रमा १५० भैँसी पाल्ने लक्ष्य छ”, अर्यालले भने ।
एक भैँसीबाट १५ लिटरसम्म दूध उत्पादन हुने गरेको छ । गोठ निर्माणमा मात्र रु. ४० लाख जति खर्च लागेको छ । गोठ निर्माण र भैँसी खरिद गरी जम्मा रु. एक करोड छ लाख जति लगानी परेको उनले बताए ।
आफ्नै १६ रोपनी जग्गामा व्यवसाय चलाएका अर्यालले घाँसपातका लागि थप १५ रोपनी जग्गा भाडामा लिएका छन् । यो पाल्पा जिल्लाकै पशुपालनका हिसाबले सबैभन्दा ठूलो फार्म हो ।
ठूलो लगानीमा धेरै भैँसीपालन व्यवसाय भएकाले अहिले फार्म हेर्न जानेको दैनिकजसो चहलपहल बढेको छ । विभिन्न सङ्घसंस्था, व्यक्तिहरू दिनहुँ भैँसीफार्म हेर्न पुगेकै हुन्छन् ।
पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा यो फार्म सञ्चालनमा आएपछि ग्रामीण कृषि पर्यटनमा टेवा पुग्ने पशु सेवा शाखा रामपुरका प्रमुख मोहनप्रसाद भट्टराईले विश्वास गरे ।
“भैँसीफार्मले रामपुर क्षेत्रका अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढाएको पाइएको छ र अर्कोतर्फ बेरोजगार भएर बसेका युवालाई रोजगार गर्ने माध्यम पनि बनेको छ”, उनले भने ।
अर्यालले आफूले उत्पादन गरेको दूध बेझाड बजारमा डेरी फार्म स्थापना गरी त्यहीँबाट बिक्री गर्दै आएका छन् । बजारमा ग्राहकले भैँसीको बढी दूध खरीद गर्ने हुँदा बिक्रीका लागि सहज भएको छ ।
विदेश जाँदा लाग्ने खर्च गाउँमै बसेर कृषि तथा पशुपालन व्यवसायमा खर्चियो भने मनग्य आम्दानी लिन सकिन्छ । युवा कृषक नरनारायण अर्यालले चलाएका भैँसीपालन व्यवसाय यस क्षेत्रमा उदाहरणीय बनेको छ । रासस