असोज २१, काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ। घरमा टीका लगाएर आफन्तकोमा टीका थाप्न जानेको चहलपहल शुरु भएको हो।
ट्राफिक प्रहरीले दशैंको बेला काठमाडौं उपत्यकाको सवारी सञ्चालनमा थप निगरानी बढाएको छ। यही असोज ५ गतेदेखि लागू भएको चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष निगरानी बढाएको हो।
चाडपर्वको बेला भिआईपी सवारी हुने भएकाले विशेष महत्वका साथ ट्राफिक व्यवस्थान गरिएको महाशाखाका प्रवक्ता एवं एसपी रविकुमार पौडेलले जानकारी दिए। दशैंको बेला ठाउँठाउँमा चेकिङ भइरहेको उनले जनकारी दिए।
प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेतमा प्रहरी परिचालन गरिएको छ। विभिन्न स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको छ। थप जनशक्ति पनि परिचालन गरिएको छ।
उपत्यकाका व्यस्त रहने मुख्य व्यापारिक स्थानहरु न्यूरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क, गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगंज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुरको बजार ईलाकामा ट्राफिक प्रहरीको उपस्थिति बढाईएको छ।
प्रहरीले होहल्ला गरेमा, शंकास्पद सामान ओसारपसार गरेमा, मदिरा सेवन गरी सवारी चलाएमा, जुवा तास खेलेको भेटाएमा, कालोबजारी भइरहेको, दुर्घटना भएको वा नशाको प्रभावमा हिँडिरहेको व्यक्ति देखेमा नेपाल प्रहरीको कन्ट्रोल १०० नम्बरमा खबर गर्न भनेको छ।