चार लाख रुपैयाँसहित ३९ जुवाडे पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ आश्विन २४, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज २४, बाँके । बाँकेमा दसैँ अवधिमा जुवातास खेल्ने ३९ जनालाई चार लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

दसैँ अवधिभर बाँकेमा जुवाका पाँचवटा खालमा प्रहरीले छापामारी ३९ जनालाई तीन लाख ९७ हजार १ सय ५३ रुपैयाँसहित पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।

उनका अनुसार, पछिल्लोपटक नेपालगञ्जमा बिहीवार राति १७ जना जुवाडे पक्राउ परेका हुन्। गणेशपुरबाट एक लाख ८३ हजार रुपैयाँसहित उनीहरु पक्राउ परेका थिए। सबभन्दा बढी कोहलपुर नगरपालिकाको विभिन्न वडाबाट २२ जना जुवाडे पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा रेडक्रस रोडमा रहेको एक इन्स्टिच्यूटबाट ९८ हजार रुपैयाँसहित कोहलपुर नगरपालिका–११ न्यूरोड बस्ने उमेश शाही, सोही ठाउँका केशव क्षेत्री र वडा नं १३ बस्ने नरबहादुर खत्रीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरले गत शनिबार मात्र कोहलपुरमा जुवा खेल्दै गरेका १९ जना व्यक्तिलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो।

कोहलपुर नगरपालिका–५ शान्तिनगरबाट ११ जनालाई २६ हजार रुपैयाँ र शनिबार राति नै बैजानाथ गाँउपालिका–४ तिलकपुरबाट आठ जनालाई ९० हजार १ सय ५३ रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन्। रासस

ताजा अपडेट

खोजी गर्नुहोस