असोज २८, मोरङ । विरामीका लागि औषधि उपलब्ध गराउने औषधी पसलबाट नै लागुऔषध विक्री वितरण हुने गरेको पाइएको छ।
यसक्रममा सुनसरीको इटहरीस्थित तिरुपती मेडिकलका सञ्चालक २६ वर्षीय नरेश यादव लागुऔषध विक्री गरिरहेको अवस्थामा पक्राउ परेका छन्। गत विहीबार पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार सार्वजनिक गरेको छ।
यादव मोरङको सुन्दरहरैंचा ४ निवासी हुन्। इटहरीमा औषधी पसल सञ्चालन गर्दै आएका यादव र इटहरीका असिम श्रेष्ठलाई प्रहरीले लागुऔषध विक्री वितरणका क्रममा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए।
प्रहरी उपरिक्षक अधिकारीका अनुसार २२ वर्षीय श्रेष्ठलाई सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वपश्चिम लोकमार्गबाट मोटरसाईकलमा लागुऔषध ओसार्दै गर्दा पक्राउ गरिएको हो।
श्रेष्ठले विभिन्न स्थानबाट लागु औषध यादवको तिरुपती मेडिकलमा पुराउने गरेको उनको भनाइ छ। पक्राउ परेका श्रेष्ठको साथबाट औषधिजन्य स्पास्पेन १६७० थान, काटाडोल-५० को १६७० थान, रिमोडोल–५० को ६ थान, एक थान मोबाइल सेट र को.१३.प १२७६ नम्बरको मोटरसाईकल बरामद गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताए।
पक्राउ परेपछि श्रेष्ठले औषधी पसलका सञ्चालक यादवले पसलबाटै लागुऔषध बिक्री गर्ने बताएका थिए। श्रेष्ठको बयानको आधारमा इटहरीस्थित तिरुपति मेडिकलमा प्रहरीले छापा मारेको थियो।
सोही क्रममा यादवको पसलबाट प्रतिबन्धित लागुऔषध २ सय १९ थानसहित लागुऔषधका खाली बोतल र ट्याबलेटका खाली पत्ता समेत बरामद गरेको थियो।