असोज २८, संखुवासभा । खाँदबारी नगरपालिका–३ मा बगानबाटै १५ लाख रुपैयाँ मूल्य बराबरको रुद्राक्ष चोरी भएको छ । रातिको समयमा खाँदबारी–३ सार्कीगाउँमा रहेको स्थानीय कृषक झलक बुढाथोकीको बगानको रुद्राक्ष चोरी भएको हो ।
कृषक झलक बुढाथोकीको बगान भए पनि उनले २ वर्षका लागि स्थानीय ब्यापारी देवराज पुरी र रमेश भण्डारीलाई वार्षिक १५ लाख रुपैयाँमा ठेक्कामा दिएका थिए ।
रातको समयमा रुद्राक्ष चोरी भएको पीडित देवराज पुरीले बताए । ‘राति रुखमा चढेर हाँगा काटेर सबै रुद्राक्ष दाना टिपेर लगेका छन् । सुक्ष्म तरिकाले खोजी गर्दैछौँ । प्रहरीमा समेत उजुरी दिएका छौँ ।’ पुरीले भने ।
पछिल्लो समय संखुवासभाका विभिन्न ठाउँमा र भोजपुर जिल्लामा रुद्राक्ष चोरीको घटना बढेको छ । यो वर्ष मात्रै संखुवासभाको पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिकाको कुदकाउले र देउरालीबाट लाखौँ रुपैयाँको रुद्राक्षको चोरी भइसकेको स्थानीयहरु बताउँछन् ।
पछिल्लो समय रुद्राक्षको व्यापारमा वृद्धि भएसँगै चोरीको घटनामा वृद्धि हुन थालेको छ । बगानमा रुद्राक्ष चोरीको घटना बढेपछि धेरै किसानहरुले बगानमा नै सीसी क्यामेरासमेत जडान गरेका छन् भने कतै सुरक्षाका लागि दिनरात नै मानिसहरु पहरा दिने समेत गरेका छन् । भदौ अन्तिमदेखि असोज कात्तिक महिना रुद्राक्ष टिप्ने मध्यम समय भएकाले पनि यसको कारोबार तीव्र रुपमा हुने गर्दछ ।