असोज २९, काठमाडौं । काभ्रे स्थायी घर भई हाल भक्तपुरको एक गलैँचा कारखानामा काम गर्ने युवकलाई प्रलोभनमा पारी झुक्याएर मृगौला झिकेको भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले निदान अस्पतालका चिकित्सक र कार्यकारी प्रमुख (सीईओ) सहित पाँच जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार रामेछापको दोरम्बा घर भएका मृगौला रोगी शंकरलाल लामाले नक्कली भान्जा बनाएर निदान अस्पतालका चिकित्सक डा. राजेश पन्त र सीईओ विपेन्द्र प्रधानसमेतको मिलेमतोमा काभ्रेका ती युवकको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गरेका थिए ।
लामाले रामेछापकै आफ्नै भान्जाको मृगौला लिने भनेर नाता प्रमाणित गरेर ल्याए पनि मृगौला दिने बेलामा अर्कै मान्छेलाई उभ्याएको दावी ब्यूरोको छ।
‘नाता प्रमाणित गरेर ल्याएपछि मृगौला प्रत्यारोपणअघि अस्पतालको समितिले त्यसलाई स्वीकृति दिन्छ। त्यो समितिमा अस्पतालका चिकित्सक, सीईओ, कानुनी सल्लाहकार र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी पनि रहन्छन्। नाता प्रमाणित अनुसारको कागज समितिको बैठकमा पुगे पनि मृगौला दिने मान्छे भने परिवर्तन भएको देखिन्छ। त्यसमा समितिको लापरबाही देखिन्छ’, ब्यूरो प्रवक्ता गोविन्द थपलियाले भने।
जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र निदान अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई पनि पक्राउ परेका छन्।
मृगौला जो कोहीले पनि दान गर्न सक्छ। आफन्तबाट लिनका लागि नाता प्रमाणित गर्नुपर्छ भने नाता बाहिरकाबाट लिनका लागि प्रकृया लामो हुन्छ। तर पैसा लिएर मृगौला दिन पाइँदैन। ‘तर यहाँ मृगौला दिने मान्छेलाई प्रलोभन र झुक्यानमा पारिएको छ। गरिबीको फाइदा उठाइएको छ। मृगौला दिँदा केही असर पर्दैन पनि भनिएको रहेछ’, ब्यूरोका डीएसपी राजकुमार सिलवाल भन्छन्।
प्रहरीले मृगौला दिने व्यक्तिलाई ३ लाख रुपैयाँ दिइएको देखिए पनि त्यहाँ ठुलो रकमको चलखेल भएको आशंका गरेको छ। लामाको गत साउन २४ गते निदान अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो।
दलालमार्फत ती व्यक्ति मृगौला पीडितको सम्पर्कमा पुगेको र अस्पतालको समितिको बैठकले पनि गलत काम गरेकाले त्यहाँ मोटो रकमको चलखेल भएको हुन सक्ने ब्यूरोको आशंका छ।
मृगौला प्रत्यारोपण गरेको मात्र ११ लाख रुपैयाँ लाग्छ। सानै उमेरमा काठमाडौँ छिरेका काभ्रेका ती युवक खलाँसी, ड्राइभर हुँदै पछिल्लो समय गलैँचा कारखानामा काम गर्थे।’
‘आफन्तबाट मृगौला लिँदा आफन्तकै ज्यान जोखिममा पर्ने डरले नक्कली भान्जा खडा गरेको देखिन्छ’, ब्यूरोको एक अनुसन्धान अधिकृत भन्छन्।
काभ्रेका ती युवक विवाहित हुन्। उनले गलैँचा कारखानामा काम गर्नुअघि इटाभट्टा, होटल लगायतमा पनि ज्यालामजदुरी गर्ने गरेको प्रहरीले जनाएको छ। मृगौला झिकिएपछि उनलाई लुकाउन खोज्दा स्वास्थ्यमा प्रतिकुल समस्या देखिएको प्रहरीको भनाई छ।