कार्तिक १८, ओखलढुंगा । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर एक युवकको ज्यान गएको छ ।
मोलुङ गाउँपालिका ३ को थुम्किमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको ज्यान गएको हो । बन्दुक छर्राले लागेर गम्भीर घाइते हुनुभएका तामाङलाई उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा सिन्धुलीको खुर्कोटमा ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजिव श्रेष्ठका अनुसार बाँदर धपाउन गएका समूहमध्येका एक २१ वर्षीय चित्रबहादुर सुनुवारलाई प्रहरीले नियन्त्रण लिएको छ । उनीसँगै गएका २२ वर्षीय सबिन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ भने फरार छन् ।
प्रहरीले दुई थान भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको श्रेष्ठले जानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
आइतबार घर नजिकैको खेतमा बाँदर धपाउन लालमानसँगै एक समूह भरुवा बन्दुक लिएर गएको थिए । उनीहरुमध्ये एक जनाले बोकेको बन्दुक अचानक पड्किएर तामाङको देब्रे तिघ्रामा लागेपछि उनी गम्भीर घाइते भएका छन्।
घटनापछि प्रहरीलाई खबर नै नगरी मृतकको शवलाई घरतर्फ लैजाँदैै गरेको सूचनाका आधारमा प्रहरीले सोमबार दिउँसो सिद्धिचरण नगरपालिका ११ को रमाइलो डाँडाबाट शव नियन्त्रणमा लिइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।