कात्तिक २०, पर्सा । पर्साको वीरगञ्जमा अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले १४ वर्षीय बालकलाई मुक्त गरेको छ।
वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर बालकलाई अपहरणमुक्त गरेको हो।
अपहरणकारीको साथबाट कटुवा पिस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
अपहरणकारीलाई पक्राउ गरेपछि बनेपाबाट अपहरण गरेर ल्याएका १४ वर्षीय बालकलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएस्पी गौतम थापाले जानकारी दिए।
अपहरणकारीले बालकलाई बनेपाबाट दश दिनअघि अपहरण गरेका प्रहरीले जनाएको छ।
प्रहरीले उद्धार गरिएका बालक र गोली लागेका अपहरणकारीको नाम सार्वजनिक गरेको छैन। खुट्टामा गोली लागेका अपहरणकारीको वीरगञ्जमा उपचार भइरहेको छ।
दिउँसो पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।