बाग्मती सफाई : ‘हिँड्दै छ, पाइला मेट्दै छ !

Post Thumbnail

मंसिर ८,काठमाडौँ । ‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ ।

फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै नगर्ने जनचेतना र परिपाटीको विकास नभएसम्म बागमती सफा हुन नसक्ने अनुभवी बताउँछन् । कलकल पानीमा पौडी खेल्ने राजधानीवासीको सपना साकार हुन बागमतीमा फालिएको फोहोर सफा गरेर होइन, फोहोरै नगरेर सम्भव हुने अभियान्ताको मत छ ।

जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइ झनै जटिल हुँदै गएको छ । ‘सफाइ अभियान सुरु भएदेखियता कुपण्डोलको थापाथली पुल क्षेत्रमा जति पटक सफाइ गर्न जाँदा पनि फोहोर राखिएका प्लास्टिकका पोका र जुटका बोराहरू भेटिन्छन्,’ पूर्वसचिव तथा बागमती सफाइ अभियन्ता किशोर थापाले आफ्नो अनुभव सुनाउँदै भने, ‘यो क्षेत्रमा १० पटकभन्दा बढी सफाइ भइसक्यो तर फोहोरको पोका र बोरा भेटिने क्रम रोकिएको छैन ।’

बागमती सरसफाइ अभियानको ३४१औँ हप्तामा थापाथली पुल क्षेत्रमा बागमती सफा गर्दै भेटिनुभएका पूर्वसचिव थापाले यो क्षेत्रमा दुर्गन्ध पनि कम नभएको अनुभव सुनाए ।

आमनागरिकमा चेतनाको विकास, घर, टोलछिमेकमा नै फोहोरको व्यवस्थापन तथा यससँग सम्बन्धित कानुनको निर्मम कार्यान्वयन नगरेसम्म बागमती लगायतका नदी खोलाहरूको सरसफाइ अभियानले मूर्तरूप लिन नसक्ने उनको भनाइ छ ।

गाडी र मोटरसाइकल चढेर आउनेहरूले पुलबाट बागमतीमा फोहोरका पोका फाल्ने गरेको घटना अत्यधिक भेटिएको उनले बताए । विसं २०७० जेठ ५ गतेदेखि संस्थागत रूपमा बागमती सरसफाइ अभियान सुरु भएको थियो ।

मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीले पशुपतिको गुह्येश्वरीबाट बागमती सरसफाइ अभियानको शुभारम्भ गरेका थिए । सो अभियानबाट अहिलेसम्म आठ हजार पाँच सय मेट्रिक टन फोहोर सङ्कलन भई सोको व्यवस्थापन भइसकेको सो अभियानले जनाएको छ ।

बागमती सरसफाइका अर्का अभियन्ता डा। राजु अधिकारीले यस अभियानले नदी खोलामा फोहोरका पोका र बोरा फाल्ने क्रम केही कम भए पनि अझै यसको अन्त्य हुन नसकेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस