मंसिर १२, जनकपुर । प्राचिन मिथिलाको राजधानी जनकपुरमा सप्ताहव्यापी रुपमा मनाईने रामजानकी विवाह पञ्चमी महोत्सव विधिवत रुपमा सुरु भएको छ । महोत्सवअन्तर्गत बुधबार फूलवारी लीला कार्यक्रम भएको छ । जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा सीता फूल टिप्न गएका बेला रामसँग भएको पहिलो भेटको सम्झनास्वरुप फूलबारी लीला गरिएको हो ।
जानकी मन्दिरबाट सीता र रामको प्रतिकात्मक स्वरुपलाई विवाह मण्डपको बगैँचामा लगेर फूलबारी लीला मनाइँदै आइएको मन्दिरका सह–महन्थ रामरोशन लास वैष्णवले जानकारी दिए । राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ । पहिलोदिन नगर दर्शन गरेर दोस्रो दिन फूलवारी लीला गर्ने गरिन्छ ।
महोत्सवअन्तर्गत विहिबार धनुषयज्ञ गर्ने कार्यक्रम छ । अबको तीन दिनपछि यो विवाह पञ्चमी समापन हुँदैछ । यसरी विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लिला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर, वैवाहिक कार्यक्रम पश्चात रामकलेवा अर्थात विदाई समारोह आयोजना गर्ने चलन छ । त्रेतायुगमा राजा जनकले शिवधनुष भंगको प्रस्ताव राखेका थिए । धनुष भंग गर्नेसँग सीताको विवाह गरिदिने उनले बचन दिए ।
त्यसको लागि ठूलै महोत्सव लगाइयो । महोत्सवमा अयोध्याका राजकुमार राम गुरु विश्वामित्रसँग जनकपुर आई धनुष भंग अर्थात् भाँचेर स्वयम्बर अर्थात विवाह गरेको जनविश्वास छ । यसै स्मृतिमा रामसीताको विवाह महोत्सव मनाइने चलन चलेको रत्नसागर मठका महन्थ डा. वैकुण्ठ दास वैष्णव बताउँछन् ।
रामायणमा उल्लेख भए अनुसार जनकपुरको रंगभूमि मैदानमा आयोजना गरिएको स्वयम्वरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो । विवाहपञ्चमीका दिन जनकपुरमा आएका भक्तजनले श्रद्धापूर्वक पूजापाठ गरे आफुले चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास छ ।