लुम्बिनी महोत्सवमा डेढ लाख दर्शक, १० करोड बराबरको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १७, मंगलबार (५ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

मंसिर १७, भैरहवा । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स अफ काठमाण्डौंको आयोजनामा सञ्चालित पाँचौ लुम्बिनी पर्यटन प्रर्वद्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ सोमबार सकिएको छ ।

“राष्ट्रिय उत्पादनको वृद्धि गरी पर्यटन प्रवद्र्धन गरौं, राष्ट्रिय उत्पादनको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा आत्मनिर्भर बनौं” भन्ने नाराका साथ मंसिर ३ गतेदेखि भैरहवास्थित अञ्चलपुरमा सञ्चालित महोत्सव सोमबार समापन भएको हो । सोमबार एक समारोहका बीच महोत्सवको समापन गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद के.सी.ले जनताको जीवन नबदलीकन मुलुकमा सुख र समृद्धि आउन नसक्ने बताए । उनले आफुले केही नगरी सरकारबाट मात्र अपेक्षा गरेर नहुने बताए । प्रदेश ५ ले अन्य प्रदेश भन्दा धेरै आर्थिक वृद्धिदर हासिल गरेको उनको भनाइ थियो ।

के.सी.ले सबै मिलेर अगाडी बढे मात्र अबको वर्षहरु सुन्दर वर्षमा परिवर्तन गर्न सकिने बताए । “ आयोजकले मेला सफल बनाउन १४ दिनसम्म अहोरात्र खट्नुभयो, अब गुरुयोजना बनाएर मेला आयोजना गर्नुपर्छ, उनले भने । गुरुयोजना बनाएर आए प्रदेश सरकार छलफल र सहयोग गर्न तयार रहेको उनले बताए ।

उनले रुपन्देहीले विकासका निम्ति राम्रो अवसर पाएको बताए । विगतको सरकार जस्तो नभइ अहिलेको सरकार विकासको गतिमा अगाडी बढिरहेको उनले बताए । स्थायी सरकारका कारण उद्योगी व्यवसायी निर्धक्कसंग उद्योग व्यवसाय सञ्चालन गर्न पाएको उनले जिकिर गरे । “सीमा नाकाहरुलाई व्यवस्थित गर्दै लगेका छौं, सुरक्षा रणनीति परिवर्तन हुँदै गएको छ, जसका कारण सीमा क्षेत्रमा लुटपाट, हत्या लगायतका अवैध गतिविधिमा लाग्ने व्यक्तिहरु कानूनी दायरामा आउँछन, उनले भने ।

पर्यटनको अभ्यास स्वरुप प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेकोले एकै पटक सबै कुराको अपेक्षा गर्नु उपयुक्त नहुने मन्त्री क.सी.ले बताए । प्रदेश ५ मा प्रयाप्त स्रोत भएका कारण यो प्रदेश विकासको सम्भावनाको दृष्टिकोणले पनि अगाडी रहेको मन्त्री के.सी.को भनाइ थियो ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले डेढ लाख दर्शकले अवलोकन गरेको महोत्सवबाट १० करोड बराबरको कारोबार गरिएको बताए । उनले स्थायी प्रदर्शनीस्थल नहुँदा नीजि जग्गामा महोत्सवको आयोजना गर्नु परेको बताए । उनले स्थायी सरकारको पालामा उद्योगी व्यवसायीले उद्योग व्यवसाय क्षेत्रको तीव्र रुपमा विकास खोजेको बताए ।

प्रदेशसभा उद्योग, पर्यटन तथा अर्थ समितिका सभापति दधिराम न्यौपानेले प्रदेश सरकार विभिन्न स्थानीय तहमा उद्योग ग्राम बनाउनेतर्फ लागिरहेको बताए । उनले दु्रत गतिमा अगाडी बढनुपर्ने भए पनि सो अनरुप बढ्न नसकिएको भए पनि विस्तारै विकासले गति लिने बताए ।

संविधानसभा सदस्य सीता बौडेलले मेला महोत्सवले आर्थिक क्षेत्र चलायमान गराउने बताइन् । उनले महोत्सवको आवश्यकता बढ्दै गएकोमा जोड दिइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले आर्थिक समृद्धिका नीतिगत कुरा हल गर्न बाँकी रहेको बताए । उनले नेपालमा ऐतिहासिक परिवर्तन भएको बताए ।

प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले स्थायी मण्डपको व्यवस्थापन गर्नुपर्ने बताए । उनले नेता र कर्मचारीलाई नभई उद्योगी व्यवसायीलाई सम्पन्न गराए मात्र मुलुकको विकास हुने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद बामदेव क्षेत्रीले औद्योगिकरण बिना मुलुकको विकास हुन नसक्ने बताए । उनले नेपालको उद्योग नीतिलाई परिमार्जित गर्दै लैजानुपर्ने बताए ।

नेकपा प्रदेश ५ कमिटी सदस्य तथा उद्योग व्यापार संगठन रुपन्देहीका परामर्श समिति सदस्य विश्वराज बराल (अनुप)ले महोत्सवले सबैलाई समेट्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले समग्र विकासको लागि महोत्सव आवश्यक रहेको बताए । नेकपा रुपन्देही जिल्ला सचिव नारायण जि.सी.(निर्मल)ले स्थिर सरकार भएकोले मुलुक अब आर्थिक समृद्धितर्फ जाने बताए । उनले समस्याका चाङ पनि रहेको बताए ।

नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले सरकारले भ्रमण वर्ष मनाइरहँदा भैरहवादेखि लुम्बिनी जाने सडकको अवस्था ठीक नभएको बताए । तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष जे.पी. कंडेलले स्थायी मण्डप खोज्न उद्योग व्यापार संगठन अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष दिपेश पछाईले महोत्सवलाई आगामी दिनमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल आवश्यक रहेकोमा जोड दिए ।

ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयका क्षेत्रीय प्रमुख शान्ति सुवेदीले विकासको लागि सकारात्मक सोच आवश्यक रहेको बताइन् ।

उद्योग व्यापार संगठन रुपन्देहीका उद्योग उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक रामचन्द्र रेग्मीले मेला महोत्सव आयोजना गर्न स्थायी मण्डप आवश्यक रहेकोमा जोड दिए ।

संगठनका निवर्तमान अध्यक्ष एवं अनुगमन तथा मुल्यांकन उपसमिति संयोजक खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा महासचिव एवं सचिवालय व्यवस्थापन उपसमिति संयोजक अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा लुम्बिनी महोत्सव विषेशांक–२०७६ को कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसी.ले विमोचन गरेको थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस