मंसिर १९, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको नाम्चे बजारपारि कोङ्दे क्षेत्रबाट सर्वोच्च शिखर सगरमाथा मात्र होइन, उच्च शिखर ल्होत्से, मकालु, चो–यु, ग्याजुङ खाङ र अमादब्लम सामुन्ने देखिन्छन्, यही अनुपम विशेषताले युनेस्कोले सगरमाथा राष्ट्रिय निकुञ्जलाई सन् १९७९ मा विश्व सम्पदा सूचीमा राखेको थियो, कोङ्देको त्यही अद्वितीय भ्यु प्वाइन्टमा व्यापारीको होटेल उभिएपछि युनेस्कोले नेपाल सरकारलाई सोधेको छ– अब सम्पदा सूचीमा राख्नुपर्ने कारण के छ ?
सगरमाथा राष्ट्रिय निकुञ्जलाई राज्यले माया नगरे पनि यो सम्पदामाथि भएको ज्यादतीले संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) चिन्तित छ ।
निकुञ्ज क्षेत्रमा होटेल निर्माण सुरु भएदेखि नै युनेस्कोले नेपाल सरकारलाई पटकपटक पत्र लेखेको छ । यो ठाउँमा होटेल बन्नाले सगरमाथा क्षेत्रको सौन्दर्य र महत्व संकटमा परेको युनेस्कोको ठहर छ ।
माओवादी हमलामा मालपोत अधिकृत मारिएपछि उनको नाममा नक्कली हस्ताक्षर गरेर निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहले कब्जा गरेको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो । १० मंसिर ०५८ मा माओवादीले सोलुखुम्बुमा हमला गर्दा तत्कालीन मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि मृत्यु भएको थियो ।
राति हमला भयो, दिउँसो उनले निकुञ्जको जग्गा नामसारी गरिदिएका थिए भन्ने कागज बनाएर यती एयरका तत्कालीन सञ्चालक आङछिरिङ शेर्पा र उनका भाइले निकुञ्जको ५० रोपनी जग्गा आफ्नो नाममा सारेका थिए । नयाँपत्रिका दैनिकमा खबर छ ।