मंसिर २०, काठमाडौं । दैनिक १८ सयदेखि २२ सय बिरामी आउने वीरका ८० प्रतिशत सेवाग्राही गरिब तथा विपन्न हुन्छन् ।
तिनैका लागि स्वदेशी मात्र होइन, विदेशी अनुदानमा संरचना निर्माण भइरहेका छन् । तर, उपकरण र जनशक्तिको अभावले बिरामीले उपचार पाउँदैनन्, बरु उनीहरूलाई निजी अस्पतालमा पठाइन्छ ।
देशको जेठो अस्पताल वीरको समस्या देखेर जापानी सहयोग नियोग (जाइका)ले ८८ करोड लागतमा सय शय्याको तीनतले नयाँ भवन बनाइदिएको छ । तर, नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको पाँच महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
आइसियू अभावका कारण वीरबाट दैनिक १० बिरामी महँगा निजी अस्पतालमा रेफर हुन्छन् । वीरमा एक रातको आइसियू शुल्क करिब तीन हजार छ, तर निजीमा चार गुणासम्म महँगो छ । हाल वीरमा पुरानो आइसियू ६ र नयाँ पाँच गरी ११ शय्या सञ्चालनमा रहेको छ । जाइकाले बनाइदिएको नयाँ भवनमा ३० शय्या सञ्चालन गर्ने योजना छ । तर, कहिले सञ्चालन हुन्छ भन्ने निश्चित छैन ।
अझ वीरमा नयाँ भवन बन्दासमेत कतिपय मेसिन स्टोरमा राखिएका छन् । ती महत्वपूर्ण मेसिन खिया लागेर सड्दै गएका छन् । वीरको पुरानो भवनमा ठाउँ अभावले २४ मध्ये १२ डायलाइसिस मेसिन थन्किएका छन् । मिर्गौलारोगी उपचार नपाएर महँगो अस्पताल धाउन बाध्य छन् ।
कर्मचारी अभावमा पनि उपकरण सञ्चालनमा समस्या भएको हो । चार सिफ्टमा डायलाइसिसको व्यवस्था त गरिएको छ, तर धेरै भिडकै कारण बिरामी पालो कुर्दाकुर्दा आजित भएर निजीतिर जान्छन् । नयाँपत्रिका दैनिकमा खबर छ ।