मंसिर २४, भक्तपुर । जुद्ध शमसेरको पालादेखी अलपत्र परेको सडक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा स्तरउन्नतीको कार्यले व्यापक मात्रामा त्रिव्रता पाएको छ ।
जुद्ध शमसेरको कार्यकालमा निर्माण शुरु गरिएको साँगाबाट मुसी गणेश–शिव वस्ती हुँदै अरनिको राजमार्ग जोड्ने ८ मिटर चौडाई भएको १.५ किलोमिटर नालीसहितको सडकको निर्माण तथा स्तरउन्नतीको कार्य भइरहेको छ । पुनःनिर्माण प्राधिकरणको रु. एक करोड ५० लाखको लागतमा निर्माण भइरहेको उक्त सडक अबको एक/दुई महिना अगावै सम्पन्न भई प्रयोगमा आउने भएको छ ।
वि.सं. १९९१ सालमा जुद्ध शमसेरको पालामा ट्र्याक खोलीएको उक्त सडक आयोजना विगत केही समय अघिसम्म झाडीको रुपमा रहेको थियो । झाडीको रुपमा रहेको उक्त सडक उपत्यका प्रवेश गर्ने तथा उपत्यकाबाट बाहिर जाने आम मानिसको लागि यात्राको सहजातको लागि मात्र नभई उक्त स्थानका जनताको आवश्यकता र चाहना अनुसार अरनिको राजमार्गको वैकल्पीक सडकको रुपमा निर्माण सम्पन्न गर्न लागिएको हो ।
शासन व्यवस्था परिवर्तन भएता पनि नेतृत्वले कुनै चासो नदिँदा उक्त सडक आयोजना अलपत्र परेको थियो । राणा शासन, शाही शासन, प्रजातन्त्र, पञ्चायत शासन, बहुदलीय शासन, २०६३/०६३ को जनआन्दोलन पछि लोकतन्त्र हुँदै हाल संघिय गणतन्त्रसम्म आइपुग्दा कुनै पनि जनप्रतिनिधिको नजर पुग्न नसकेको उक्त सडकमा वर्तमान विकास प्रेमी युवा नेता सांसद बस्नेतको आफ्नो कार्यकालको शुरुवातमा नै आयोजना सम्पन्न गर्ने योजनाका साथ अघि बढ्नुभएको थियो । सोही योजना अनुसार हाल सम्पन्नताको बाटोमा समेत अघि बढेको छ, जनताको तिव्र विकास प्रतिको चाहना एक पछि अर्को गर्दै पुरा हुँदै गइरहेका छन् ।
नेपालमा प्रजातन्त्र आएपछि भक्तपुरमा विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले लामो समयसम्म नेतृत्व गरे पनि नेतृत्वले जनताको भावना अनुसार काम गर्न नसकेको धेरै सप्रमाण कार्यहरु स्पष्ट रहेका छन् । तर छोटो समय मन्त्री बन्नुभएका सांसद बस्नेतले हाल आफु निर्वाचित भएको करिव दुई वर्षमा नै विगतको नेतृत्वले वीस वर्षको कामभन्दा बढी दुई वर्षमा नै सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छन् ।
उक्त सडक निर्माण भएपश्चात काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा हुने सवारी जाम तथा दुर्घटना न्युनिकरण हुने निश्चित रहेको छ । त्यती मात्र नभई उक्त स्थानका जनताले प्रत्यक्ष रुपमा विकासको अनुभुति समेत देख्न पाउने भएका छन् । उक्त स्थानका जनताको विकास प्रतिको सपना यथार्थमा परिणत समेत हुने भएको छ ।
उक्त सडक निर्माणको लागि सांसद बस्नेतको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, संवन्धीत निकाय, प्रहरी तथा स्थानीयवासीको व्यापक मात्रामा साथ र सहयोग भएको पाइएको छ । निर्माणाधिन उक्त सडकको सांसद बस्नेतको नेतृत्वको टोलीले छड्के निरिक्षण तथा अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा सांसद बस्नेतले गल्ती तथा कमजोरीलाई सच्याई व्यवस्थित, प्रभावकारी र दिर्घकालिन सोचका साथ काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् ।