मंसिर २५, दाङ । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो ।
आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरीसमेत दिएका छन् । २६ वर्षकी ती महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने कुराको पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले जानकारी दिए ।
‘करणी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न पीडित पक्षले जाहेरी दिएका छन्,’ निमित्त प्रहरी प्रमुख पालले भने, ‘पछि पहिचान भएमा किटानी जाहेरी दिनेगरी निवेदन परेको छ ।’ पीडितको स्वास्थ्य परीक्षण गरेको बताउँदै पालले प्रहरीले अनुसन्धान अघि बढाएको बताए ।
वलीविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
यसैबीच, तुलसीपुर उपहानगरपालिका–६ रजौरा निवासी ३० वर्षीय हेमप्रकाश वलीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । दंगीशरण गाउँपालिकाकी एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै वलीविरुद्ध सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा दर्ता भएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिए ।
प्रहरीका अनुसार वलीले आइतबार (२२ गते) ती युवतीलाई करणीको प्रयास गरेका थिए । मुद्दा दर्ता भएलगत्तै वलीको खोजी कार्य तीव्र पारेको निमित्त प्रहरी प्रमुख डम्बरपालले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।