पौष ५, नुवाकोट । २०७० चैत २० गते तत्कालीन सरकाररले काठमाडौं जैसिदेवलमा रहेको राणाकालीन केन्द्रीय नुवाकोट सार्ने निर्णय गर्यो । कारण थियो, उक्त कारागार जीर्ण र अव्यवस्थित बन्नु । कारागारको अवस्था उस्तै छ, सरकारहरु फेरिरहेका छन् तर, कारागार नुवाकोट सार्ने योजना भने अधूरै छ ।
योजनाको पहिलो चरणअन्तर्गत १७ सय कैदीबन्दी स्थानान्तरण सहित काठमाडौंस्थित केन्द्रीय कारागार नुवाकोट सार्ने सरकारी योजना रहेको थियो । कामकारबाहीको गति हेर्दा उक्त योजना तत्काल सफल हुने देखिन्न । त्यतिबेला ३६ महिनाको निर्माण अवधि राखेर २०७३ असोजबाट निर्माण कार्य थालिए पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन । तीन चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणाधीन ८ हजार पाँच सय कैदी बन्दी अटाउने क्षमताको केन्द्रीय कारागारको ३२ वटा भवन बनिरहेका छन् ।
लामाररमण जेभीद्वारा निर्माणाधीन कारागारको प्राविधिक डिजाइन तथा परामर्श र बिल भुक्तानीमा ढिलाई हुँदा कार्यतालिकाबमोजिम निर्माणमा कठिनाई भएको कम्पनीका प्रतिनिधि रोहन बरालले स्पष्ट पारे । बन्दीहरुको वृत्तिविकास तथा रोजगारलगायत मानव अधिकार समेतलाई ध्यानमा राखी बृहत गुरुयोजनासहित निर्माणाधीन कारागारमा खेलमैदान, अस्पताल, विद्यालय एवम् क्याम्पस, पुस्तकालय, सीप प्रर्वद्धन केन्द्र तथा योग केन्द्र र किरियापुत्री कक्ष लगायतका सुविधा हुने बताइएको छ ।
साझा पोष्टसँगको सहकार्य