पुष ६, पर्वत । पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो ।
महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनु नपर्ने बताए । तीनै तहका सरकार बनेपछि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनमा आएको बताउँदै मन्त्री लम्सालले अब गाउँ–गाउँमा स्वरोजगारका बाटाहरु खुलेको बताए । उनले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गरे ।
मन्त्री लम्सालले उद्यम व्यवसाय गर्ने जोसुकै युवालाई राज्यले सहयोग गर्ने बताए । उनले गाउँ–गाउँमा उद्यम सिर्जना गर्न लागिपरेको बताए । उनले पर्यटन, कृषि, उद्यम तथा ऊर्जाको क्षेत्रमा अनुदान वितरण गरिरहेको बताउँदै गाउँमै उद्यम सिर्जना गर्न आग्रह गरे । उनले घरवास (होमस्टे)लाई प्रभावकारी बनाउन पनि आग्रह गरे ।
गण्डकी प्रदेशले २७४ घरवास बनाएको बताउँदै घरवास प्रभावकारी भएमा पर्यटकको कमी नहुने र जुनसुकै व्यवासाय गर्नका लागि पनि गण्डकी प्रदेश सरकारले बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको बताए ।
कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले विकासबाट विमुख बनेको विहादी बिस्तारै उज्यालोको दिशामा जान थालेको बताए । विविध समस्याले गाउँपालिकाले नागरिकका अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै विकास निर्माणमा सबैको सक्रियता र सहभागिता आवश्यक रहेको बताए । उनले बाच्छामा सञ्चालित घरवासलगायत विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्नका लागि पहल गर्ने बताए ।
महोत्सवमा भलिबल प्रतियोगिता, स्थानीय गुरुङ समुदायका परम्परागत सांस्कृतिक कार्यक्रम लोकगीत प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । रासस