पौष १०, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इन्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इन्जिनीयर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
सडकखण्डको भित्तामा अड्किएका ढुंगा झार्ने काम भइरहेको छ,’ इन्जिनीयर खनालले भने, ‘अहिलेसम्म ३ प्रतिशत मात्र काम भएको छ ।’ जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर २७ गतेदेखि २ हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न अनुरोध गरेको थियो । सोहीअनुसार पुस ११ गतेसम्म सडक बन्द गरेर आयोजनाले काम गरिरहेको छ । तर माथिका ढुंगा झार्न अझै २ हप्ता लाग्ने भएकाले दिउँसोको सवारी आवागमनमा अवरोध पुग्ने सूचना अधिकारी खनालले बताए ।
१ हप्ता समय थप गरेर भए पनि काम सम्पन्न गरिने खनालले बताए । बाँकी काम भने सवारीसाधन पुनः सञ्चालन गर्न सकिने उनको भनाइ छ । ढुंगा झारेपछि रकनेटिङ, बोल्टिङ प्रविधिबाट जाली लगाइने उनले जानकारी दिए । अहिले सडकखण्डको गाईघाट, भोर्ले, घुमाउने, भालुढुंगा, जलवीरे, चारकिलो, टोपेखोला र कालीखोला क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको छ । रू। १४ करोड लागतमा वज्रगुरु, हिमसगरमाथा न्यू टेक्निकल जेभीले पहिरो रोक्ने कामको जिम्मा पाएका छन् । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्ने इन्जिनीयर खनालले बताए । अबको १ महीनामा २० प्रतिशत काम हुने उनको भनाइ छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भइसकेको छ । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले बताएको छ ।