पौष १२, काठमण्डौँ । नारायणगढ मुग्लिन सडकखण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द हुनेभएको छ । सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने भएकाले पुस २२ गतेसम्म दिउँसोको समयमा सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको हो । शुक्रबार बसेको सुरक्षा समितिको बैठकले गएको मंसिर २७ गतेदेखि पुस ११ गतेसम्मका लागि बन्द गरेर काम भएको भए पनि काम नसकिएपछि फेरि समय थप गर्ने निर्णय भएको हो ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर आवश्यक ८ स्थानमा पहिरो रोकथामको लागि काम गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन् । सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुँदैछ । १३ करोड रुपैयाँको लागतमा बज्रगुरु हिमशिखर न्यु टेक्निकल जेभीले काम गरिरहेको खनालले बताउनुभयो । आयोजनालाई यस अगाडि दुई हप्ताको समय दिइएको भए पनि काम नसकिएपछि फेरि ११ दिनको म्याद थप गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ ।