भूकम्पले मेटायो ‘ब्ल्याक भिलेज’ को पहिचान, पर्यटन व्यवसायी महिलाको पेशा धरापमा

Post Thumbnail

पौष १७, रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका गत्लाङकी सर्की तामाङ होमस्टे व्यावसायी हुन् । ४ दशकको हाराहारीमा रहेकी उनले विगत १३ वर्षदेखि होमस्टे व्यवसाय सञ्चालन गर्दै आएकी छन् । गत्लाङमा एक सफल व्यावसायीको रुपमा आफुलाई उभ्याएकी तामाङलाई ‘महिलाहरु आर्थिक रुपमा आफैं बलियो हुनुपर्छ’ भन्ने मान्यताले आफ्नै गाउँमा यो पेशा सुरु गर्न अभिप्र्रेरित गरेको हो । उनका श्रीमान ट्रेकिङ गाइड हुन् । श्रीमानले पनि कहिलेकहिँ होमस्टेमा पाहुनाहरु ल्याउँछन् । तामाङका ४ जना छोराछोरी छन् । कान्छी छोरी आफुसँगै र अरु ३ जना पढाइको शिलशिलामा काठमाडौं बस्छन् । घर खर्च छोराछोरीको पढाइ खर्च अहिलेसम्म होमस्टे सञ्चालनबाटै गरिरहेको तामाङ बताउछिन् । कर्साङ तामाङको आम्दानीको मुख्य स्रोत पनि होमस्टे व्यवसाय नै हो । उनले आफ्नो र परिवारको खर्च यही व्यवसायबाट धान्दै आएका छन् । गत्लाङमा सर्की तामाङ हुन् जस्ले होमस्टे व्यवसाय सुरु गरिन् । तर अहिले कर्साङ जस्तै गत्लाङमा धेरै महिलाले होमस्टे सञ्चालन गरेर आम्दानी गर्दै आएका छन् । सर्की तामाङ एक्लै हुँदा होमस्टेबाट लाखौं आम्दानी गर्थिन् । पर्यटकहरुलाई अन्य बिकल्प थिएन । पछिल्लो समय यो व्यवसाय गर्नेहरुको संख्या त बढेको छ तर पर्यटक आउने क्रम भने घटेको छ । उनीहरुको पेशा धरापमा परेको छ । यसकारण उनीहरु चिन्तित छन् । ‘पर्यटकहरु गत्लाङ गाउँ ओइरिनुको कारण थियो कालो गाउँ अर्थात ‘ब्ल्याक भिलेज’ ले चर्चित गाउँ हेर्न, कर्साङ भन्छन् ।’ अव न ब्ल्याक गाउँ रह्यो न पर्यटक । भूकम्पले गत्लाङ गाउँको पहिचनमात्रै मेटाएन स्थानीय महिलाको पेशालाई नै धरापमा पारेर गयो ।

कात्र्तिक, मंसिरको महिना र चैत, वैशाखमा गरि वर्षमा दुई पटक सिजनमा गत्लाङ गाउँ पर्यटकले भरिभराउ हुन्थ्यो । । ४ सयभन्दा बढि घरधुरि रहेको गत्लाङ गाउँमा सुरुमा सर्की तामाङकोमात्रै होमस्टे थियो, ‘पल्दोर पिक होमस्टे’ । सिजनको समयमा दैनिक १०÷१५ जना पाहुना हुन्थे, कहिलेकहिँ १००÷१५० जना पनि हुने गरेको अनुभव सर्की सुनाउँछिन् । उनले एउटै सिजनमा लाखौँको व्यापार गर्थिन् । २०७२ सालको भूकम्पपछि पर्यटक आउन व्हात्तै घटेको छ, त्यसैले सिजनको समयमा समेत दैनिक रुपमा ४÷५ जना भन्दा नहुने उनले बताइन् । धेरै भयो भने पनि ३०÷४० जना हुन्छन्, पर्यटकसँगै आम्दानीको स्रोत घटेकामा उनी चिन्तित छन् । पर्यटकको आगमन घटेपनि होमस्टेको संख्या गाउँमा बढेकाले अलि अलि आएका पर्यटक पनि बाँडिएर बस्दा पेशा व्यवसाय संकटमा परेको छ । भूकम्प जानुभन्दा पहिले गाउँभरि जम्मा ३ ओटा थिए अहिले बढेर ९  ओटा भएका छन् । यी मध्ये ६ वटा महिलाले सन्चालन गर्दै आएका छन् । पर्यटक घट्ने र होमस्टे बढ्ने भएकाले पेशा नै परिवर्तन गर्नुपर्छ कि भन्ने डर लागेको तामाङको गुनासो छ ।

कालो गाउँ अर्थात् ‘ब्ल्याक भिलेज’ को नामले चिनिने चर्चित रसुवाको उत्तरी भेगमा रहेको गत्लाङ गाउँ २०७२ सालको भुकम्पपछि सेतो, निलो, रातो रङ्गीचङ्गी गाउँमा फेरिएको छ । चार सय भन्दा बढी घरधुरी रहेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ३ गत्लाङ गाउँमा भुकम्प अघि सबैजसो घरमा ढुङ्गा छिनेर बनाइएको गारो र ‘पाङ्लेप’ को छाना थियो । स्थानीय भाषामा काठलाइ पाङ्लेप भनिन्छ । काठको छानाले गर्दा एकनासे देखिने गाउँ पुरै कालो हुन्थ्यो । त्यसैले यहाँ आउने विदेशी पर्यटकले गत्लाङ गाउँको नाम ‘ब्ल्याक भिलेज’ राखिदिए । अनि गत्लाङ ब्ल्याक भिलेजका नामले चिनीयो । ब्ल्याक गाउँका सबै घर उस्तै हुन्थे ,झ्याल ढोकाको डिजाइन उस्तै हुन्थ्यो, कस्को घर कुन हो ? भनेर थाहा हुदैन थियो, कहिलेकाहिँ आफ्नो घर भनेर जाँदा अर्काको घरमा पुगिन्थ्यो, झ्याल ढोकाको बुट्टाहरु उस्तै चिटिक्क परेको हुन्थ्यो, ढुङ्गाको गारो काठको छानो भएको दुई तले घरको भित्र पनि काठैकाठ हुन्थ्यो, ओछ्याउने पनि काठ, छाउने पनि काठ भएरहोला जाडो समयमा पनि तातो, न्यानो हुन्थ्यो । तर भूकम्पपछि गत्लाङ गाउँको आफ्नो पहिचान हराएको छ । भूकम्पले सबैको घरहरु भत्किए, विभिन्न संघसस्थाहरुले राहतको रुपमा जस्तापाता बाँड्न थाले, पुरानो घर भत्किएकोले जस्ताकै टहराहरु बनाउन थाले । त्यसैले व्ल्याक गाउँ अहिले रङ्गीचङ्गी भएको हो ।

काठको छानामा हिउँ परेपनि न्यानो हुन्थ्यो तर जस्ताको छानाले धेरै चिसो हुने अनुभव स्थानीयले सुनाए । जस्ता पाताको छानामा हिउँ पर्ने समयमा धेरै समय हिउँ जमेर बस्ने हुँदा यो गत्लाङलाई उपयुक्त नभएको उनीहरु बताउँछन् । त्यसैले गर्दा झन धेरै चिसो हुदो रहेछ । गत्लाङ गाउँ हिमालको मुनि भएकोले यहाँ मंसिर महिना देखि नै हिउँ पर्न सुरु हुन्छ । ‘पर्यटक घट्नुको यो पनि एउटा कारण हो, सर्कि भन्छिन् ।’
भूकम्प जानुभन्दा पहिले गोङगङ् भन्ने ठाउँमा प्राकृतिक तातोपानी थियो, भूकम्पले तातोपानीको मुहान सुक्यो । शरिरमा आएको घाउ खटिरा निको हुने, ग्यासट्रिक, गानोगोला, जोर्निहरु दुख्ने जस्ता विभिन्न खालका रोगहरु निको हुने विश्वासले तातोपानीमा नुहाउन आन्तरिक र बाह्य पर्यटक आउथे । रसुवा, नुवाकोट, धादिङ्ग, सिन्धुपल्चोक, गोर्खा, रामेछाप, चितवन, काठमाडौँ र भारतलगायत अन्य मुलुकबाट तातोपानीमा नुहाउन पर्यटक आउथे । विशेषगरि कात्र्तिक र चैतको महिनामा दैनिक सयभन्दा बढि मानिसहरु गत्लाङ गाउँ हुदैँ रसुवाकै गोङगङ गाउँमा रहेको तातोपानीमा नुहाउन उनीहरु आउथे । अहिले तातोपानी सुकेकोले पर्यटन क्षेत्रमा ठूलो घाटा लागेको सर्की तामाङको अनुमान छ । यो बाहेक गत्लाङ हुँदै जाने तामाङ सम्पदामार्गको अध्ययन, अवलोकन, अनुसन्धान गर्न काठमाडौँबाट आउँने पर्यटक पनि पछिल्लो समय कमी आएको तामाङले बताइन् । पहिला यो मार्गको अध्ययन गर्न प्रत्येक वर्ष ४० जनासम्मका ३÷४ वटा समूह आउँथे । गत्लाङमा धेरैजसो विदेशी पर्यटक आउने गरेको तामाङले सुनाइन् । भूकम्पले क्षति पुर्याएपछि यो मार्गपनि सुक्यो ।

सर्कीले २ सिजन भयो होमस्टे एक्लैले चलाउन थालेको । पहिला उनले खाना पकाउन एक जना कुकलाइ तलब दिएर राखेकी थिइन् । सिजनको समय स्कुल विदा भएको बेला छोराछोरीहरु काठमाडौँबाट सघाउन आउथे । अहिले ९ वर्षको कान्छी छोरी र उनी मात्रै छन् । एक्लैले होमस्टे चलाउछिन् । श्रीमान आफ्नै काममा व्यस्त छन् । पाहुनालाई खाना बनाउने, सरसफाइ गर्ने सबै काम उनी आफै गर्छिन् । आजभोली उनका दिनहरु पर्यटक पर्खाइ मै बितिरहेका छन् । ‘पर्यटक (पाहुना) आउँछन् कि भनेर दिनभरि कुरेर बस्छु, कहिलेकहिँ दिनभरि कुर्दा पनि पाहुना आउँदैनन्, त्यो बेलाचाहिँ गाह्रो हुन्छ, आफ्नो समय पनि खेर गइरहेको हुन्छ, चिन्ता लाग्छ, पेशा नै परिवर्तन गर्नुपर्छ कि जस्तो लाग्छ, तामाङ भन्छिन् ।’

गत्लाङमा होमस्टे सञ्चालन गर्ने प्राय महिलाले आफ्न खेतवारीको उत्पादन पर्यटकलाई खुवाउँछन् । तरकारीका लागि घर घरमा ग्रीन हाउस भएकोले धेरैजसो किन्नु पर्दैन । आफ्नै बारीतिर आलु, सिमी, चम्बा बोडि, मकै लगाउछन् । बहिरबाट उनीहरुले प्राय चामल मात्रै ल्याउछन् । गत्लाङमा उत्पादन हुने आलु र सिमी घुम्न आउने पर्यटकहरुले मिठो छ भन्दै किनेर लैजाने गर्छन् । कतिपय पर्यटकहरु गाउँ राम्रो लाग्यो भन्दै फेरी पनि आउने गरेको कर्साङ तामाङ बताउँछन् । गी्रन हाउस भित्र गोलभेडा, साग, बन्दाकोपि, काउली, मुला, खुर्सानी, धनियाँ, लसुन, प्याज लगायत धेरै तरकारी लगाउँछन् । एक पटक लगाइएको तरकारी ६ महिनासम्म खान मिल्छ ।
गत्लाङमा पर्यटकलाई आकर्षण गर्ने धेरै कुरा छन् । यहाँ एकसय आठ ओटा मन्दिर तामाङ भाषामा छ्र्योतेनहरु छन् , गुम्बा छ, पार्वतीकुण्ड , गणेश हिमाल र लाङटाङ हिमालको दृश्य देख्न सकिन्छ, तामाङहरुको एउटा छुट्टै पहिचान छ । तर यी सवै कुराको प्रचार नभएकोमा पर्यटन व्यावसायी निराश छन् । ‘ यो गाउँलाई अरु धेरै गाउँमा चिनाउन पाए हुन्थ्यो, होमस्टे सञ्चालन गरेका कर्साङ दावा तामाङले भने । कहिले काहिँ वडा अध्यक्ष, सदस्यहरुसगँ कुराहरु राख्ने गरेको उनले सुनाए । ‘पहिलाको जस्तो गाउँ बनाउनु प¥यो भनेर उहाँहरुले पनि हामी प्रयास गरिरहेका छौँ भन्नुहुन्छ, संघसस्था , वडा कार्यालय, गाउँपालिकाहरुको सहयोगमा बिस्तारै गत्लाङ गाउँ फेरि पनि कालो गाउँ ‘ब्ल्याक भिलेज’ को नामले चिनिन्छ होला भन्ने आशा छ, होमस्टे व्यवसायी कर्साङ तामाङले भन्छन् ।’
कालो गाउँ अर्थात ब्ल्याक भिलेज’ सेतो, निलो, रातो हुँदै रङ्गीचङ्गी भएकोमा वडा अध्यक्ष दावा गोम्बो तामाङलाई पनि निको लागेको छैन । ‘एक त यहाँको मौसमले नै जस्तापाता उपयूक्त नहुने रैछ, उनी भन्छन्, यो ठाउँको लागि जस्ता त यत्तिकै दिएपनि काम नलाग्ने रैछ, हिँउ पर्ने समयमा धेरै चिसो हुने, गर्मिको समयमा धेरै गर्मि हुदो रहेछ, उनले सुनाए ।’ पुर्खा बाउबाजेहरुले घर बनाउन पाङ्लेपको प्रयोग गरेकै कारण यो हिमालको मुनि बस्न सकेका रहेछौं भन्नेपनि उनले बल्ल अनुभव गरे ।

छानाचहिँ पाङलेपकै लगाउनुप¥यो भनेर वडा कार्यालयबाट कार्यक्रम अगाडि ल्याएपनि वन कार्यलयबाट काठ नदिने भएपछि रोकिएको जानकारी वडा अध्यक्ष दावा गोम्बो तामाङले दिए । सबै घरहरुमा काठको छाना हालेर एकै पटक ब्ल्याक भिलेज बनाउन नसके पनि बर्षको दश पन्ध्र वटा घरमा भएपनि पाङ्लेपको प्रयोग गर्न सहयोग गर्ने योजना रहेको वडा अध्यक्ष तामाङले सुनाए । भूकम्प जानुअघि पाङ्लेप अर्थात् काठको छाना भएको घर बनाउन तीन दिन सबै गाउँले प्रत्येक घरबाट काम गर्न एक एक जना जानुपर्ने नियम थियो । बर्षमा दुई, तीन, ओटा घर बनाउथ्यो, फलेक ओर्सानलाई एक दिन, पाङ्लेप ल्याउन एक दिन र ढुङ्गा माटो गर्दा तीन दिन प्रत्येक घरबाट एकजना जानुपर्ने नियम स्थानीयले बनाएका थिए । ‘अहिले भूकम्पपछि त्यो परम्परा पनि हरायो, आफ्नो घर पनि भत्किने अर्काको घर पनि भत्किने भएपछि कसको के बनाउने, के गर्ने भन्ने भयो यतिकै हरायो, तामाङले भने ।’ नेपाल भ्रमण बर्ष २०२० मा गत्लाङ गाउँमा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरु ल्याउने लक्ष्य रहेको वडा अध्यक्ष तामाङले बताए ।
लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर रमेश बस्नेतले यो सिजनमा दैनिक एकसय पचासको हाराहारीमा पर्यटक आइरहेको जानकारी दिए । उनका अनुसार निकुञ्जमा आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्ने रहेका छन् । गोसाईकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा पर्यटक जानका लागि कुनै पनि समस्या नरहेको निकुञ्जका रेन्जर रमेश बस्नेतको दावी छ ।


राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख लेखनाथ पोखरेल यहाँको मौलिकता बचाउन गत्लाङका तामाङ समूदाय नै अघि सर्नुपर्ने बताउँछन् । परम्परागत बस्तिको मौलिकता कायम राख्न, कालो गाउँ गत्लाङको मौलिक संरचनालाई जोगाउन,े बचाउनका लागि पुननिर्माण प्राधिकरणको जिल्ला कार्यलय, पुननिर्माण प्राधिकरणको केन्द्रिय कार्यालयमा त्यसको संरक्षण, व्यवस्थापन, मौलिक पहिचानको संरक्षणको लागि स्थानीय तहहरुबाट लिखित रुपमा प्रस्तावहरु आउनुपर्ने हुन्छ जुन अहिलेसम्म नआएको प्रमुख पोखरेलको भनाइ छ ।

नेपाल सरकारले गुम्बा, परम्परागत बस्ति संरक्षण गर्न आवश्यक बजेट दिने गरेको बताउँदै उनले स्थानीय जनता, राजनीतिक दलहरु, सांसदहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्विजिविहरु, पुननिर्माणसँग सम्बन्धित कार्यलयहरु सबै मिलेर पहल गरेमा गत्लाङलाई पुन कालो गाउँको नामले चिनाउन सकिने विश्वास उनले दिलाए । कालो गाउँको नामले चिनाउने गत्लाङ गाउँको पहिचान पुन फर्काउन पहल गर्ने प्रतिवद्धता प्रमुख लेखनाथ पोखरेलले जनाए ।
-कविता स्याङबा

ताजा अपडेट

खोजी गर्नुहोस