हिटर र गिजर प्रयोग गर्नुहुन्छ ? सावधान, ज्यान जाला !

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । जाडोमा पानी तताउन बाथरुममा राखिएको ग्यास गिजर वा कोठा तताउन प्रयोग गरिने हिटर लगायतले सर्वसाधारण बिरामी पर्ने र ज्यानसमेत जान सक्ने भन्दै विशेषज्ञले सावधानी अपनाउन आग्रह गरेका छन् । गिजर प्रयोग गरेर नुहाउँदा गत शनिबार ललितपुरमा एक जनाको र कोठाभित्र कोइला बालेर सुत्दा तीन साताअघि कीर्तिपुरमा दुई जनाको मृत्यु भएको थियो ।

गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ । यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ । यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन् ।

ललितपुरको एक गल्र्स होस्टेलको बाथरुममा ग्यास गिजर प्रयोग गरी गत शनिबार १६ वर्षीया किशोरी एक्कासि बेहोस भइन् । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। तीन साताअघि कीर्तिपुर ८ सुन्दरबस्तीमा कोठामा कोइला बालेर सुत्दा ३६ वर्षीया महिला र उनका २ महिनाका छोराको मृत्यु भएको थियो भने श्रीमानलाई अस्पताल लगेर उपचार गर्नुपरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीका अनुसार जाडो याममा यस्ता घटना बर्सेनि हुने गरेका छन् । हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ ।

पाटन अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माले हिटर, गिजर बाल्दा निस्कने विषाक्त कार्बन मोनोअक्साइड ग्यासका कारण बिरामी भई उपचार गर्न आउने बढेको बताए । ‘पुस लागेयता १० जना ग्यास गिजर र रुम हिटरले गर्दा कार्बन मोनो अक्साइड विषाक्तताको सिकार भएर उपचार गर्न आएका छन्,’ नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञ डा। अभिजित अधिकारीले भने । मंसिरमा त्यस्ता २५ बिरामी अस्पताल आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस