पौष २४, काठमाण्डौँ । नेपाल सरकारले पश्चिम एसियामा भएका पछिल्ला घटनाक्रमलाई गम्भीर चासोका साथ हेरिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार आज एक विज्ञप्ति जारी गर्दै इरान र अमेरिकाबीच बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गरेको हो ।
‘पश्चिम एसिया क्षेत्रमा भएका पछिल्ला घटनाक्रमलाई नेपाल सरकारले गम्भीर चासोका साथ हेरिरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेका छन् । यसकारण हाम्रा जनताको सुरक्षा हाम्रो लागि सर्वोच्च प्राथमिकताको विषय हो ।’
विज्ञप्तिमा सबै पक्षलाई संयम हुन आग्रह गरिएको छ । नेपालले संवादमार्फत समस्याको समाधान खोज्न पनि भनेको छ । शान्तिपूर्ण तरिकाले कुनै पनि समस्या र मतभेदको समाधान खोज्नुपर्छ भन्ने नेपालको सिद्धान्त रहेको विज्ञप्तिमा जनाइएको छ ।