पौष २५, काठमाण्डौँ । २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने भएको छ ।आगामी माघ २ गते भक्तपुर दरबारस्क्वायरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिको सहभागितामा भव्य रूपमा दिवस मनाउने निर्णय भएको व्यवस्थापन उपसमितिले जनाएको छ ।
गृह मन्त्रालयको निर्णयबमोजिम भक्तपुर नगरपालिकाले भूकम्प सुरक्षा दिवस मनाउने तयारी शुरु गरेको नगरपालिकाका प्रमुख एवं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक सुनिल प्रजापतिले जानकारी दिए । नेपालमा २ माघ १९९० मा गएको भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
उक्त दिवस मनाउन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मूलसमारोह समिति र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा उपसमिति गठन भएअनुसार उपसमितिले भव्य रूपमा दिवस मनाउने गरी तयारी शुरु गरेको हो । दिवसको अवसरमा माघ २ गते दिउँसो १२ बजेबाट भक्तपुरका दुई स्थान भक्तपुर नगरपालिका १० लामगाल पुखु र भाज्या पुखुबाट एकैसाथ सचेतना र्याली निकालिने छ ।