माघ ७, काठमाण्डौ । नेकपा विप्लव समूहले राजधानीलाई निशाना बनाउन सुरु गरेपछि सरकारले सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको छ । ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको काठमाडौँ ठूलो भर्याङमा रहेको घरमा बम विस्फोट भएपछि विप्लवको सक्रियता बढेको निष्कर्ष प्रहरीले निकालेको खबर आजको समाचारपत्र दैनिकमा दीपक रिजालले लेखेका छन् । सुरक्षा निकायले अहिले सिंहदरबारको सुरक्षा व्यवस्था अझै मझबुत बनाएको छ ।
सिंहदरबार वरिपरी २४ सै घन्टा प्रहरी तैनाथ गरिएको छ भने विभिन्न गण तथा गुल्मबाट थप प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । बिस्फोटपछि ठाउँ ठाउँमा छापा मारेर १ सय भन्दा बढी संकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रातहतियार तथा विस्फोटक पदार्थसहित राजधानी छिरेका विप्लवका कार्यकर्ताले आफ्नो उपस्थिति देखाउन राजधानीका संवेदनशील क्षेत्रमा अवाञ्छित गतिविधि गर्न सक्ने सूचना आएपछि अहिले राजधानीका केही ठाउँलाई संवेदनशील क्षेत्र मान्दै सुरक्षा सतर्कता बढाइएको छ ।